धनगढी -कैलाली प्रहरीले झण्डै आधा किलो अवैध सुन बरामद गरेको छ । सुन सँगै तीन जनालाई पनि पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय मालाखेतीको सयुक्त टोलीले ४४९.७७ ग्राम सुनसहित तीन जना पक्राउ गरेको हो।
पक्राउ पर्नेमा शैलेश्वरी सुनचाँदी पसल अत्तरियाका सञ्चालक समिर सिजापती, सोही सुनचाँदी पसलमा कार्यरत सुनसरीका राजु बिक र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का भवानी घिमिरे रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुको साथबाट ४९ हजार बढी नगद र ५ थान मोबाइल पनि बरामद गरिएको छ।
अत्तरिया प्रहरी कार्यालय अगाडी नै काठमाडौबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ८ख ८३४९ नम्बरको महाकाली यातायातको बसलाई चेकजाँच गर्दा उक्त बसका कण्डक्टर घिमिरेको साथबाट ४९.९५ ग्राम अवैध सुनको बाला र नगद २६ हजार बरामद गरिएको हो । यस्तै बसमै सवार राजु बिकको साथबाट सुनको बाला र सिक्री गरी जम्मा ३४९.८७ ग्राम अवैध सुन र नगद ६ हजार ९ सय रुपैया पनि बरामद गरिएकोजिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।
उनीहरुसँग सोधपुछ गर्ने क्रममा सुन अत्तरियाका व्यवसायी समिर सिजापतीको खुलेपछि सिजापतीलाई पनि पक्राउ गरिएको हो। सिजापतीको खानतलासी गर्दा उनको साथबाट ४९.९५ ग्राम अवैध सुनको बाला र १६ हजार तीन सय नगद बरामद भएको प्रहरीले जनाएको छ। भवानी घिमिरे र समिर सिजापतीको साथमा कतार दोहाको बिल रहेको तर किन्ने व्यक्तिको विवरण फरक रहेको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

को हुन सिजापती ?
गोदावरी नगरपालिका २ घर भएका सिजापती बिगत लामो समय देखी सुनको ब्यबसाय गर्दै आएका छन । अत्तरिया चौराहामा उनको सुन पसल रहेको छ । उनको न्यु शैलेश्वरी सुनचाँदी पसल निकै राम्रो चलेको पसलको रुपमा यस क्षेत्रमा स्थापित रहेको छ ।
कैलाली प्रहरीले आज उनी सँगै तीन जनालाई पनि पक्राउ गरेको छ । प्रहरीले उनिहरुको साथबाट ४४९.७७ ग्राम अबैध सुन समेत बरामद गरेको छ । पक्राउ पर्नेमा उनकै पसलमा काम गर्ने राजु बिक रहेका छन ।
अत्तरिया प्रहरीले बिषेश सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार बुधबार दिउँसो काठमाडौबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ८ख ८३४९ नम्बरको महाकाली यातायातको बसलाई प्रहरी कार्यालय कै अगाडी चेकजाँच गरिएको थियो ।