दार्चुला - जिल्लाको व्याँस गाउँपालिका– २ मालगाउँका जयसिंह धामीको ड्रोन क्यामेराबाट खोजी गरिने भएको छ ।
तुईन तरेर घर फर्किन बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिएपछि महाकाली नदीमा खसेर बेपत्ता भएका धामीको १० दिन सम्म कुनै पत्तो नलागेपछि अब ड्रोन क्यामेराको सहायताले उनको खोजी गरिने भएको हो ।
नदी माथि ड्रोन उडाउन भारतसंग अनुमति मागिएको छ । महाकाली नदी नेपाल र भारत सीमानदी रहेको र सीमा क्षेत्रमा ड्रोन क्यामेरा उडाउन दुवै देशको सहमति आवश्यक हुने भएकाले भारतको पिथौरागढ जिल्लाका डिएम कार्यालयलाई पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलाका सहायक सिडिओ ज्योत्सना भट्ट जोशीले ड्रोन क्यामेराको सहायताले खोजी गर्न ड्रोन क्यामेरा प्रयोगको अनुमतिका लागि भारतको पिथौरागढ जिल्लाका डिएम कार्यालयलाई पत्राचार गरिएको बताइन् ।
शनिबार पत्राचार गरिएको भएपनि अहिले सम्म कुनै जवाफ प्राप्त हुन नसकेको उनको भनाई छ । गत साउन १५ गते जिल्ला सदरमुकाम खलंगा आउन तुइन तर्दै गर्दा एसएसबीले डोरी फुकालिदिएपछि जयसिंह महाकालीमा बेपत्ता भएका थिए । घटनाको अनुसन्धान गर्न सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा टोली बनाएको थियो ।
उक्त टोली अहिले दार्चुलामै रहेको छ । सो टोलीले घटना स्थल देखी लिएर पिडितका परिवारसंग सोधिखोजी गरिरहेको छ ।
टोलीमा नेपाल प्रहरीका एआइजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक सिडिओ ज्योत्सना भट्ट सदस्य छन् ।