भारत - भारतकी पूर्व विदेश मन्त्री सुश्मा स्वराजको ६७ बर्षको उमेरमा निधन भएको छ । भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआईएमएस) मा मंगलबार राति स्वराजको निधन भएको हो ।
उनलाई राति १० बजेर २० मिनेटमा एआईएमएसको इमर्जेन्सीमा र्पुयाइएको थियो । कार्डिएक अरेस्ट कारण स्वराजको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी स्वराजले स्वास्थ्य समस्याकै कारण गएको लोक सभा चुनाव लडेकी थिइनन् । २६ मे, २०१४ देखि पाँच वर्ष उनी भारतको विदेश मन्त्री रहिन् ।
इन्दिरा गान्धी पछि यो जिम्मेवारी सम्हाल्ने उनी दोस्रो भारतीय महिला नेतृ हुन् । मार्च १९९८मा दोस्रो पटक पनि अटल बिहारीको सरकार बनेको बेला फेरि आइबी मन्त्री बनेकी थिइन्।
तर सन् १९९९ मा उनी बेल्लारी लोकसभा चुनावमा भने सोनिया गान्धीसँग चुनाव लड्दा हार भोगेकी थिइन् । १९७७ मा उनी हरियाणाबाट चुनाव जितेर २५ वर्षकै उमेरमा राज्यमन्त्री भएकी थिइन् ।
उनी दिल्लीको मुख्यमन्त्री समेत भएकी भइन् । यसैबिच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री तथा भाजपा अध्यक्ष अमित शाह, भारतीय कांग्रेस नेता राहुल गान्धी लगाएतले उनको असामयिक निधन प्रति दुःख व्यक्त गरेका छन् ।
पूर्व विदेश मन्त्री स्वराजको आज अपराहन्न ४ बजे तिर अन्तिम संस्कार गर्ने तयारी भैरहेको छ । त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव राखिने छ ।