दार्चुला -जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ ।
मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो ।यस्तै समितिले भारतीय एसएसबी र स्थानीयले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिने जनाएको छ ।
गत साउन १५ गते व्यास गाउँपालिका–२ का मालका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार फुकालिदिँदा घटना घटेको समाचार आएसँगै घटनाबारे अध्ययन गर्न छानबिन समिति दार्चुला पुगेको हो ।
बेपत्ता धामी अझै फेला परेका छैनन् ।बुधबार जिल्लास्थित पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल र व्यास गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेपछि टोली आज गस्कु गएको हो ।
नेपाल–भारत जोड्ने तुइन लगाएको स्थानीय क्षेत्रको टोलीले अवलोकन गर्नेछ ।टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ ।
समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य छन् ।
भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरे पनि तुइन नकाटेको दाबी गरेको छ ।