धनगढी - सरकारले कैलालीको डुडेझाँडी लम्कीमा विशेष आर्थिक क्षेत्र (सेज) घोषणा गरेपछि सो क्षेत्रमा उद्योग सञ्चालनका लागि २ सय ७५ आवेदन परेका थिए । तर औद्योगिक क्षेत्रको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत निर्माण नभएपछि ७ वटा उद्योगले आवेदन फिर्ता लिएका छन्।
विस्तृत वातावरणीय प्रभाव मुल्यांकन (आईई) को काम सम्पन्न भएपनि डीपीआर भने अझै तयार भइ नसकेकाले मन्त्रिपरिषद बैठकले औद्योगिक क्षेत्र पारित गर्नै बाँकी रहेको जिल्ला समन्वय समिति कैलालीका संयोजक सुर्यबहादुर थापाले बताए।
‘अहिलेसम्म डीपीआर नै बन्न नसकेपछि आवेदन दिएका ७ वटा उद्योग सञ्चालकले आवेदन फिर्ता लिएर नेपालगञ्जमा उद्योग खोल्ने तयारी थालेका छन्।’ औद्योगिक क्षेत्र ६ नम्बर प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई पायक पर्ने स्थानमा भएकाले पूर्वी क्षेत्रबाट सिमेन्ट, छड, राइसमिल, कागज उद्योग, दाना तथा पाइप उद्योग स्थापनाका लागि आवेदन परेका थिए।
१ हजार ५ सयले प्रत्यक्ष रोजगारी पाउने उक्त औद्योगिक क्षेत्रले पुर्णता पाउने वित्तिकै निर्यातमुलक उद्योग खुल्नेक्रम बढ्ने अपेक्षा प्रदेशवासीले गरेको भएपनि सो प्रक्रिया डीपीआरमै अल्झिन पुगेको हो। औद्योगिक क्षेत्रका लागि नक्साकंन, सिमाकंनको काम सम्पन्न भएपनि थप प्रक्रिया अघि बढ्नै सकेको छैन।
आईई प्रतिवेदन निर्माण सम्पन्न भएर मन्त्रिपरिषदबाट निर्णय हुन बाँकी रहेको संयोजक थापाले बताए। डुडेझाँडी औद्योगिक क्षेत्रभित्र ११ सय विगाहामा डीपीआर र वातावरणीय प्रभाव मुल्यांकन गर्न ६० लाख ५७ हजार ५ सयमा ठेक्का सम्झौता गरिएको थियो।
तर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भने डुडेझाँडी औद्योगिक क्षेत्रको डीपीआर चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने दाबी गरेको छ। सो क्षेत्रमा ३ सय १७ उद्योग स्थापनाका लागि डीपीआर निर्माणको काम भइरहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकी सूचना अधिकारी सिर्जना श्रेष्ठले बताइन्।
सरकारले कैलालीको डुडेझाँडी र कञ्चनपुरको दैजीछेलामा विशेष आर्थिक क्षेत्र (सेज) घोषणा गरेको थियो।