दार्चुला - जिल्ला स्थित महाकाली नदीमा बेपत्ता भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही नगरिए २२ दलले सडक संघर्ष गर्ने चेताबनी दिएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितका २२ दलीय गठबन्धनले जारी गरेको संयुक्त वक्तव्यमा घटनाबारे अविलम्ब कूटनीतिक पहल गरी घटनामा संलग्न रहेका दोषीलाई कानुनको दायरामा नल्याए सडक संघर्ष गर्ने चेतावनी दिएको हो ।
जारी बिज्ञप्तीमा उक्त घटना बिषयमा अविलम्ब कूटनीतिक पहल गरी सो घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउने सरकारसंग माग गरिएको छ । विज्ञप्ति जारी गर्नेमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), नेकपा (माओवादी मोर्चा), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (बोल्शेविक), एम.सी.सी. खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान , नेकपा (मार्क्सवादी) २१,नेकपा मार्क्सवादी (पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् ।
अन्यथा सडक सङ्घर्षमा उत्रनुबाहेक अर्को विकल्प नरहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साउन १५ गते व्यास गाउँपालिका–२, मालघाटमा स्थानीय ३३ वर्षीय जयसिंह धामी भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए ।
यो तथ्यलाई प्रत्यक्षदर्शीहरुको भनाइले पुष्टि गरेको तर, भारतको पिथौरागढ जिल्ला अधिकारीले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर यो घटनामा एसएसबीको संलग्नता नरहेको बताउदै आएको छ ।