दार्चुला - जिल्लाको महाकाली नदीमा रहेको तुईनवाट युवक तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि युवक बेपत्ता भएको घटनालाई लिएर पिडित युवकका परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन् ।
जिल्लाको व्यास गाउँपालिका–२ मालघाटमा भारतीय एसएसबीले तुइन काटिदिएपछि व्यासमा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको भन्दै पीडित पक्षले भारतीय पुलिस थानामा जाहेरी (एफआईआर) दर्ता गराएका हुन् ।
तुइन तर्नेक्रममा दुई जना एसएसबीले तुइन काट्दा धामी महाकालीमा बेपत्ता भएको भन्दै उनीहरुलाई कारबाहीको माग गर्दै भारतको पांगलास्थित पुलिस थानामा जाहेरी दर्ता गराएको धामीका आफन्तले बताएका छन् ।
तुइन तरिरहेका बेलामा तुईन काटेर नदीमा खसाल्ने दुबै जना एसएसबी जवानहरुलाई कारबाहीको माग गर्दै आफूहरुले निबेदन दर्ता गराएको उनीहरुको भनाई छ ।
घट्ना घटिसकेपछि एसएसबीले डर, धम्की देखाई घट्नाबारे नबोल्न चेतावनीसमेत दिएको जाहेरीमा उल्लेख छ । घट्ना भएपछि एसएसबीका जवानहरु घटना स्थलबाट भागेका थिए । धामी नदी पार गर्नै लागेका बेला एसएसबीले तुइन काटिदिएको प्रत्यक्षदर्शीहरुले बताइरहेका छन् ।
तुइन खसेको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पिथौरागढ जिल्लाधिकारीलाई पनि पत्र लेखेको थियो । त्यसको जवाफ फर्काउँदै भारतीय पक्षले तुइन काट्ने कार्यमा भारतीय एसएसबीको संलग्नता नरहेको दाबी गरेको छ । ब्याँसको घट्नाको अनुसन्धानका लागि गृह मन्त्रालयले गृह सचिवको नेतृत्वमा छानबीन समिति गठन गरेको छ ।
घटनाको अनुसन्धानका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली घटनास्थलमा खटिएको छ ।