बैतडी –बैतडीमा आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्य शुरु हुँदैछ । तोकिएका वडाका खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाउने कार्य शुरु हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । ५५ देखि ६० बर्ष उमेर समूहका सबै नागरिकलाई खोप लगाइने छ भने विद्यालयका शिक्षक, कर्मचारी, कलेजका प्राध्यापकहरु, कर्मचारी, सवारी साधनका चालक र सहचालकहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
खोप लगाउन तोकिएको खोप केन्द्रमा आफ्नो परिचय खुल्ने प्रमाणपत्र सहित उपस्थित हुन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । खोप अभियान अन्तर्गत आजदेखि पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा खोप लगाउने कार्य शुरु हुनेछ । यी स्थानीय तहहरुमा भोली पनि खोप अभियान जारी रहनेछ ।
यस्तै साउन १९ र २० गते सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ । यसैगरी साउन २० र २१ गते पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक हरिश भट्टले बताए ।
बैतडीमा खोप अभियानका लागि १८ हजार डोज खोप आईसकेको स्वास्थ्य प्रमुख भट्टले बताए । भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकलाई २८ दिनभित्र दोश्रो मात्रा दिनुपर्ने हुन्छ । दोश्रो मात्रा मौज्दात राखेर खोप अभियान सञ्चालन भएको उनले बताए । बैतडीमा यो भन्दा पहिलो सञ्चालन भएको खोप अभियानमा कोभीशील्डको दुवै मात्रा ३ हजार ४७३ जनाले लगाएका छन् भने १२ हजार ९५३ जनाले पहिलो मात्रा मात्रै लगाएका छन् ।
यस्तै भेरोसेलको ३ हजार ३०२ जनाले पहिलो मात्रा लगाएका छन् भने ती मध्ये ३ हजार ५४ जनाले दोश्रो मात्रा समेत लगाईसकेका छन् ।