कञ्चनपुर - कृष्णपुर नगरपालिकामा अव्यवस्थित बसोबासीको जग्गा नापीको कार्य सुरु भएको छ । नगरपालिको वडा नम्बर ४ मालुवेलाबाट जग्गा नापी सुरु गरिएको हो ।
जग्गा नापीका लागि कन्ट्रोल प्वाइन्ट राखेर काम अगाडि बढाइएको छ । भूमि आयोग र कृष्णपुर नगरपालिका बीच जग्गाधनी पूर्जा उपलब्ध गराउनेबारे गत वर्षको कात्तिक २७ गते सम्झौता भएको थियो ।
सम्झौताबमोजिम नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी गरी १५ हजार ३०४ जनाको लगत लिइएको छ। जसमध्ये भूमिहीन दलित ५७, भूमिहीन सुकुम्बासी १३६ र अव्यवस्थित बसोवासी १४ हजार ९५५ जनाको लगत संकलन गरिएको छ ।
यसैगरी बेदकोट नगरपालिकाले समेत साउन २० गतेदेखि अव्यवस्थित बसोवासीको जग्गा नापीको काम अगाडि बढाउने तयारी गरेको छ। शुक्लाफाँटा नगरपालिकामा भने अव्यवस्थित बसोवासी र भूमिहीन दलित, सुकुम्वासीको लगत लिने कार्य पूरा गरी विवरण कम्प्युटरमा प्रबिष्ट गर्ने कार्य निरन्तररूपमा भइरहेको छ।
लालझाडी र बेलडाँडी गाउँपालिकाले समेत विवरण कम्प्युटरमा राख्ने कार्यलाई जारी राखेका छन्। हालसम्म जिल्लास्थित आयोगले जग्गासम्बन्धीको ४० प्रतिशत कार्य पूरा गरेको छ।
कञ्चनपुरमा हालसम्म तीन हजार १५१ जना भूमिहीन दलित र सुकुम्वासीले बसोबासका लागि फाराम भरेका छन्।
यसैगरी ४९ हजार २४ अव्यवस्थित बसोवासी र आयोगको जिल्लास्थित कार्यालयबाट ६ हजार ४१७ जना जग्गाको अधुरो कार्यका लागि फारम भरेका छन्। रासस