कञ्चनपुर - भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको आज वर्ष पूरा भएको छ । निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो ।
हत्याको तीन वर्षमा अनुसन्धानका लागि थुप्रै अनुसन्धान टोली परिवर्तन भए तर प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन नसक्दा पीडित परिवारलाई भने न्याय पाउने आश मरेको छ ।
राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा अनुसन्धान गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाएर पक्राउ गर्न नसक्दा यो घटना रहस्यकै गर्भमा रहेको छ । उक्त घटनाको प्रहरीले अहिले पनि सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको जनाएको छ ।
घटनाको निरन्तर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए । यस बिचमा अहिलेसम्म निर्मलाको हत्यारा पत्ता लाग्न नसकेको उनले बताए ।
ठोस प्रमाण र घटनाका बिषयमा बताउन सक्ने प्रत्यक्षदर्शी नहुँदा अनुसन्धान निष्कर्षमा पुग्न नसकेको उनको भनाई छ । आफूहरूले हत्यारा पत्ता लगाउन निरन्तर अनुसन्धान गरिरहेको र दोषी पत्ता लाग्ने उनको भनाइ छ ।
२०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीको उनको शव फेला परेको थियो। घटना भएको एक महिनापछि भदौ ४ मा जिल्ला प्रहरी कार्यालयले भीमदत्तनगरपालिका –१९ बागफाटाका मानसिक अवस्था ठिक नभएका दिलिप विष्टलाई सार्वजनिक गरेपछि निर्दोषलाई फसाउन खोजिएको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो ।
आन्दोलनकै क्रममा भीमदत्त नगरपालिका–१८ शालघारीका शनि खुनाले सहादत प्राप्त गरे । पक्राउ परेको केही साता पछि अभियुक्त भनी सार्वजनिक गरिएका विष्टको डिएन नमिलेपछि सरकारी वकिल कार्यालयबाट साधारण तारेखमा रिहा भएका थिए।
डिएनए परीक्षणमै त्रुटि भएको ठहर भएपछि परिस्थिति प्रमाणलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाइरहँदा शंकाको सुइ फेरि यसअघि सार्वनिक गरिएका विष्टमाथि रहेको छ । दिलिप विष्टलाई प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरे पछि कञ्चनपुरमा आन्दोलन चर्कियो ।
प्रहरीको गोली लागेर दजानौं घाइते भए भने एक जनाको मृत्यु भयो । तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रमुख जिल्ला अधिकारी कुमार खड्कालाई सरकारले केन्द्रमा तान्यो ।
भदौ ८ गते सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा डीआईजीहरू र उच्च तहका सरकारी अधिकारी सम्मिलित छानबिन समितिले स्थलगत अध्ययन पछि मन्त्रालयमा बुझाएको प्रतिवेदन अहिलेसम्म अलपत्र बनेको छ ।
मैनाली समिति बाहेक निर्मला प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआइजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदन तयार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट उक्त घटनाको अनुसन्धान अधिकृत रहने प्रहरी नायव उपरीक्षक भने छोटो समयमै धेरै परिर्वतन हुने क्रम देखिएको छ । सुरुवातमा घटनाको अनुसन्धान अधिकृतमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक (हाल निलम्बित) एकिन्द्र खड्का खटिएका थिए ।
निमर्लालाई न्याय माग गर्दै आन्दोलन चर्किएपछि अनुसन्धान अधिकृत खड्का सहित सात जना प्रहरी निलम्बित भए । तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र तत्कालीन वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक जगदीश भट्टलाई गृहमन्त्रालयले घटनाको केही महिनापछि जागिरबाटै बर्खास्त ग¥यो।
सुरुका अनुसन्धान अधिकृत खड्का निलम्बित भइकेपछि निर्मला प्रकरण अनुसन्धानको नेतृत्व सम्हालेका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझा केही महिनामै अन्यत्र सरुवा भए ।
उनको सरुवापछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर विष्टले पनि निर्मला प्रकरणको फाइल अध्ययन गर्दै गर्दा इलाका प्रहरी कार्यालय अत्तरीया काज सरुवा भयो ।
त्यसपछि निर्मला प्रकरणमा अनुसन्धानको नेतृत्व गरिरहेका प्रहरी नायव उपरीक्षक गणेश बम केही समय मात्रै कञ्चनपुर बसेर सरुवा भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क छ। बमको सरुवापछि उक्त घटनाको अनुसन्धान अधिकृत रहेका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दको पनि जिल्ला आएको केही महिनामै काज सरुवा गरियो।
त्यसपछि निर्मला प्रकरणको अनुसन्धानका लागि कञ्चनपुर पुगेका प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलको पनि चार महिनामै सुरुवा गरियो। त्यसपछि अमरबहादुर थापाले अनुसन्धानको नेतृत्व गरे उनको पनि सरुवा भएपछि हाल सिद्धराज न्यौपानेल नेतृत्व गरिरहेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरले निर्मला हत्या अनुसन्धानको दायरा साँघुरिएको बताएका छन् ।
अनुसन्धानका सबै संयन्त्र क्रियाशील भएको बताउदै उनले अनुसन्धान साँघुरिएर धेरै नजिक पुगेका भएपनि यकिन नभएको बताए ।