काठमाडौं - नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । यसअघि देशभर वडा अधिवेशन साउन १२ गतेका लागि तोकिए पनि शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशन कार्यतालिका प्रभावित भएपनि भदौ १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनका बारेमा कुनै निर्णय नभएको बताए । ‘वडा अधिवेशन स्थगन हुनुको अर्थ केन्द्रीय महाधिवेशन पनि सर्छ भन्ने होइन,’ उनले भने, ‘अहिले केन्द्रीय महाधिवेशनको मिति यथावत नै छ ।’
कांग्रेसले १२ साउनमा वडा अधिवेशन, १६ साउनमा स्थानीय तहको अधिवेशन, २० साउनमा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्न गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।
त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६–१९ भदौमा हुने कार्यतालिका थियो ।
क्रियाशील सदस्यताको काम कार्यतालिका अनुसार नहुँदा महाधिवेशन प्रभावित भएको हो । शनिबार सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले अहिलेसम्म समितिले गरेका कामको बारेमा जानकारी गराएका थिए ।
समितिले १२ साउनमा सदस्यताको अन्तिम सूची सभापति देउवालाई बुझाउने भएको छ । सभापति देउवाले हस्ताक्षर गरेपछि क्रियाशील सदस्यताको सूची केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गर्नेछन् । त्यसपछि निर्वाचन समितिले देशभरका सबै वडामा निर्वाचन अधिकृत खटाउनेछ ।