काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले ठेगाना नखुलाई आफ्नो नामको नागरिकता खारेज भएको भन्ने निर्णयप्रति आपत्ति जनाएका छन् । साउन १६ गतेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजेन्द्र महतो सहित ८ जनाको नागरिकता खारेज गरिएको निर्णय सुनाएका थिए ।
तर, खारेज गरिएका नागरिकता धनीको ठेगाना नखुलाए पछि समाचारहरुमा राजपाका सांसद राजेन्द्र महतोको नागरिकता खारेज भएको भन्ने आए पछि सोमबार बसेको प्रतिनिधिसभा बैठकमा महतोले आपत्ति जनाएका हुन् । उनले आफ्नो नागरिकता खारेज गरेको हो भनी सरकारलाई प्रश्न समेत गरे ।
‘राजेन्द्र महतो सहित ८ जनाको नागरिकता खारेज भएको निर्णय सुने’, उनले भने, ‘कुन राजेन्द्र महतो हो ? सम्वेदनशील र राष्ट्रियता सँग जोडिएको विषयमा सरकारका प्रवक्ताले नाम ठेगाना केही नदिने, राजपा सांसद भनेर व्यापक प्रचार हुने । भ्रम फैलाएर राजेन्द्र महतो राष्ट्रियता माथि प्रश्न उठाउने, यो के गरेको ? सरकारको नियमै प्रश्न छ ।’
सरकारले भ्रम छरेर आफ्नो मानहानी गरेको उनको आरोप छ । ‘यो भएन, भोलि कृष्णबहादुर महरा, पुष्पकमल दाहाललाई जोडेर यस्तो गरियो भने के हुन्छ ?’ उनले प्रश्न गरे । महतोले सभामुख र नेकपा अध्यक्षलाई जोडे पछि नेकपाका नेता खगराज अधिकारीले उठेर आपत्ति जनाएका थिए ।
महतोले सञ्चार माध्यमले पनि मानहानी हुने गरी प्रचार गरेकोमा आपत्ति जनाउँदै भने, ‘सरकारको पनि प्रष्ट अभिव्यक्ति आउनु पर्छ । मेरो मानहानी भएको छ, सरकारले माफी माग्नु पर्छ ।’