अत्तरिया -आर्थीक बर्ष २०७८ -७९ को लागी गोदावरी नगरपालिकाको कबाडी ठेक्का ६० लाखमा सम्झौता भएको छ । धनगढीको कन्चन कन्सल्टेन्ट एन्ड कन्ट्यार्कट प्रालीले ठेक्का पाएको हो ।
अब उसले नगरपालिकाको नगरसभाले तोकेको दररेटमा नगरपालिका भित्रका ब्यबसायिक कबाडी उठाउन पाउने नगरपालिकाका राजस्व शाखा प्रमुख राजेश जोशीले जानकारी दिए ।
गत बर्ष उक्त ठेक्का ३५ लाखमा सदर भएको थियो । यो सँगै कबाडी पनि नगरपालिकाको आम्दानीको मुख्य स्रोत बनेको छ ।
बसपार्क को पार्किङ शुल्क
अत्तरिया बसपार्कको पार्किङ शुल्क करको लागी पनि नगरपालिकाले बिधुतिय बोलपत्र (इबिडिङ) आह्वान गरेको छ । जसमा ५० लाख न्युनत्तम मुल्य राखेर बोलपत्र हाल्न सकिने छ । श्राबण २१ गते सम्म बोलपत्र खरिद गर्न सकिने समय सिमा नगरपालिकाले तोकेको छ ।
गत बर्ष कसैले पनि बिडीङ नगरेपछी नगरपालिका आँफैले पार्किङ शुल्क उठाएको थियो । गत बर्ष बसपार्कबाट पार्किङ शुल्क बाफत करिब ३० लाखको हारहारीमा राजस्व असुली भएको जोशीले बताए ।
कोरोना कहरका कारण बेलाबेलामा हुने बन्दाबन्दीले गाडी नचल्ने भएकाले बसपार्कको पार्किङ शुल्क ठेक्कामा ठेकेदार कम्पनीको रुची घटेको अनुमान गरिएको छ ।
खोलानाला ठेक्का
गोदावरी नगरपालिकाको मुख्य आम्दानीको स्रोत बन्दै आएको नदी जन्य पदार्थको ओसारपसारको ठेक्काको लागी पनि बिधुतिय बोलपत्र (इबिडिङ) आह्वान गरिएको छ ।
खुटिया ,खैराना र गोदावरी नदीको लागी न्युनत्तम ७ करोड मुल्य राखेर बिडिङ गर्न सकिने भएको छ । तर यसपाली तीन वटै नदीमा एउटै ठेकेदार कम्पनीले बिडिङ गर्नु पर्ने छ ।
जसको लागी श्राबण २० गते सम्म बोलपत्र खरिद गर्न सकिने छ । गत बर्ष कसैको पनि ठेक्का नपरेपछि नगरपालिका आँफैले नदी जन्य पदार्थहरुको राजस्व अशुली गरेको थियो ।
जसबाट साढे ३ करोड नगरपालिकाले राजस्व अशुल गरेको थियो । यस्तै नगरपालिकाले नगरभित्र राखिने ब्यबसायिक बिज्ञापनको लागी पनि ठेक्का आह्वान गरेको छ ।