काठमाडौं - राष्ट्रियसभाकी सांसद विमला राई पौड्यालले नागरिकता विधेयक पारित नगरेर सांसदहरुले ठूलो अपराध गरेको बताएकी छन् ।बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले संविधान अनुसार नागरिकता पाउनुपर्ने ६ लाख युवाहरु नागरिकता विहीन हुनुको जिम्मेवार सांसदहरु रहेको टिप्पणी गरेका हुन् ।‘निवर्तमान सरकारले कानुनको मस्यौदा गरेर प्रतिनिधिसभामा बुझायो ।
प्रतिनिधिसभाले तीन वर्षदेखि छलफल गरेको गरेकै छ, राष्ट्रियसभामा अहिलेसम्म आएको छैन । दलीय सहमतिको नाममा ६ लाख नागरिक हुने युवालाई नागरिकताविहीन बनाएर राख्न मिल्छ ?’ उनले भनिन्, ‘त्यो चाँडो निकाल्न पर्दैन ? सम्माननीयज्यू, यो एकदमै ठूलो अपराध गरिरहेका छौं ।’नागरिकताविहीन हुनेहरुको पीडाले सांसदहरुलाई छुन नसकेको सांसद राईले बताइन् ।
‘हामी संसदमा बस्ने सांसदहरु नागरिकताविहीन छैनौं, हाम्रा छोराछोरी पनि नागरिकताविहीन छैनन् । त्यसैले यसले हामीलाई कति छोएको छ शंका लागेको छ’ उनले भनिन् । यदि दलीय सहमति नजुटेर विधेयक अगाडि नबढेको भए यति ठूलो जनसरोकारको विषयमा सांसदहरुले फ्लोर क्रस गर्न सक्नुपर्ने सांसद राईले बताइन् ।
‘दलीय सहमति नजुटेर पास भएको छैन भने फ्लोर क्रस गर्ने चलन बसिहाल्यो, त्यस्ता कुरामा फ्लोर क्रस गरौं, जसले जनताको टड्कारो आवश्यकता पूर्ति हुन्छ’ उनले भनिन् । संसद अधिवेशन शुरु हुनेवित्तिकै सांसदहरुलाई नागरिकताविहीन युवाहरुले एसएमएस पठाउने गरेको भन्दै सांसद राईले ती युवाहरु नेपाली भएर पनि संविधानले दिएको मौलिक हक उपयोग गर्न नपाएको बताइन् ।
संविधान अनुसार नेपाली नागरिक आमाको सन्तानले पनि नागरिकता पाउने व्यवस्था गरेको भन्दै उनले संविधान जारी भइसकेको ५ वर्षसम्म किन संविधान कार्यान्वयन हुन नसकेको भनी प्रश्न गरिन् ।‘कानुन संविधानसँग बाझिन्छ भने संविधानमा भएको कुरा लागू हुन्छ, तर त्यही कुरा लेखेर आएको विधेयक किन पास हुदैन ?’ उनले प्रश्न गरिन् ।