बागलुङ – बागलुङ जिल्लाको तमानखोला गाउँपालिका—४ लाममेलामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । गएराति करिब डेढसय मिटर माथिबाट झरेको पहिरोका कारण तमानखोला—४ की ४५ वर्षीया सन्तकुमारी सिर्पाली, सोही ठाउँकी वर्ष ७० की अन्सारी सिर्पाली र सोही स्थानका १२ वर्षका प्रविण सिर्पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
अरु दुई जना सम्पर्क बिहीन भएका छन् । घटना स्थलपमा प्रहरी पुगेर उद्धार सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता झपिन्द्रप्रसाद भट्टराईले बताए । पहिरोका कारण पाँच घर पुरिएको तमानखोला—४ अध्यक्ष उदिम छन्त्यालले जानकारी गराए । पहिरोमा अन्य ६ जना समेत घाईते भएको स्थानीयले जानकारी दिएका छन् ।
यस्तै बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा बनेको तुरतुरे ताल फुटेको छ । सोमबार बिहान खोलामा पानीको सतह बढेपछि ताल फुटेको छ । वर्षाका कारण तालभन्दा केही मध्यहाडी लोकमार्ग भासिएर खोलामा झरेको छ ।
बढेको बडिगाड खोलाका कारण मध्येपहाडी लोकमार्ग पहिरोको रुपमा झरेपछि बागलुङ—बुर्तिबाङ सडकमा यातायात अवरुद्ध भएको छ। अहिले बुर्तिबाङबाट बागलुङ, पोखरा, काठमाडौं, पाल्पा बुटवलका लागि छुट्ने सवारी साधनहरु बुर्तिबाङमै रोकिएका छन् ।
बुर्तिबाङ जानका लागि छुटेका सवारी साधनहरु खाल बजारमै रोकिएको बताइएको छ । लोकमार्गको अधिकाँस भाग पहिरोले बगाएको र कुनापट्टी ठूलो चट्टान कटान गर्नुपर्ने भएकाले लोकमार्ग सुचार हुन समय लाग्नसक्ने स्थानीयले बताएका छन् ।
वर्षाका कारण खार बजारमा समेत माथिपट्टीबाट पहिरो झरेका कारण सडक अवरुद्ध छ । तुरतुरेमा गतवर्ष चट्टानी पहाडसहितको पहिरो झरेपछि करिब एक सय मिटर गहिरो र एक किलोमिटर भन्दा लोमा ताल बनेको थियो ।