काठमाडौं – के तपाईंका बालबालिका मोबाइलमा गेम खेल्ने, टिकटक बनाउने या भिडियो हेर्ने गर्छन् ? यस्तो धेरै मात्रामा गरे उनीहरूलाई मानसिक रोग ‘गेमिङ डिसअर्डर’ को समस्या हुनसक्छ । अहिले धेरैजसो बालबच्चा ‘गेमिङ डिसअर्डर’ को सिकार हुँदै गएको मनोविज्ञहरूको भनाइ छ ।
मोबाइल गेममा बच्चाहरू लिप्त हुँदै जाँदा उनीहरू त्यहाँबाट बाहिर आउनै चाहँदैनन् । यही कारण गेमिङ डिसअर्डरलाई अहिले विश्व स्वास्थ्य सङ्गठनले मानसिक रोगको श्रेणीमा राखेको मानसिक रोग विशेषज्ञ डा. प्रवास अधिकारीको भनाइ छ ।
उनले भने,– “जब बच्चाहरूमा यस्तो समस्या आउन थाल्छ, उनीहरू निदाउन छाड्छन् । शारीरिक गतिविधिमा सक्रिय हुँदैनन् । खानपान अनियमित हुन थाल्छ । उनीहरू पारिवारिक र सामाजिक जीवनबाट भाग्न खोज्छन् । ” यो अवस्थामा पुग्दा बालबालिका हिंस्रक र आक्रामक हुने बताउँदै उहाँले एकान्तमा मात्र बस्न रुचाउने, सधैँ उदास रहने जस्ता समस्या देखिए अभिभावकले बेलैमा ध्यान दिन सुझाव दिए ।
बालबालिका उदास हुने, खान मन नगर्ने तथा मोबाइल धेरै हेर्ने समस्या लिएर धेरै अभिभावक आफूकहाँ आउने गरेको उनले बताए । उनले भने,– “बच्चा फकाउन के गर्नुहुन्छ भन्दा सबैजसो अभिभावकले एउटै जवाफ दिन्छन – मोबाइल खेलाउने । अर्थात् मोबाइलमा भिडियो हेर्ने वा गेम खेल्ने । अधिकांश अभिभावकको साझा समस्या हो यो । ”
बालरोग विशेषज्ञ डा. प्रज्ञा प्रधानका अनुसार बच्चाले नखाएर मात्र शारीरिक विकास नहुने होइन, गेमिङ डिसअर्डरको समस्याले पनि नकारात्मक असर पारेको हुन्छ । गेम खेलेपछि बालबालिकालाई समयमा भोक नलाग्ने, भोक लागे पनि खान मन नगर्ने र आफूले के खाएको थाहासम्म नपाउने अवस्था हुने उनको भनाइ छ । “मोबाइल सँगै भोक र निद्रा हराउने भए पछि कसरी शारीरिक विकास हुन्छ ?”
उनका अनुसार छोराछोरी घुक्र्याउँछन, रिसाउँछन् अनि फकाउनु प¥यो भने मोबाइल खेल्न दिन्छौँ । कुनै काम लगाउनु प¥यो भने पनि त्यो काम ग¥यौ भने मोबाइल खेल्न दिन्छु । खाना खान मन गर्दैनन् भने अहिले खाना खायौ भने मोबाइल खेल्न दिन्छु अथवा मोबाइल हेर्दै खाऊ भन्ने चलन छ ।
डा. अधिकारीले धेरैजसो अभिभावकले छोराछोरी फकाउन मोबाइलकै भर लिने गरेको जानकारी दिए । “मोबाइलमा हात परेपछि बच्चाहरू गेम खेल्न, भिडियो हेर्न तथा टिकटक बनाउन थाल्छन् । यसरी मोबाइलमा झुम्मिए पछि उनीहरू आफैँलाई भुल्छन ।” भोक लागेको, आफ्नो अघिल्तिर को आयो, को गयो, के भइरहेको छ ? केही पनि थाहा पाउँदैनन् किनभने उनीहरूको आँखा मोबाइलको स्क्रिनभित्र हुन्छ । मोबाइलमा गेम जति खेल्यो, उति खेल्न मन लाग्छ भन्दै डा. प्रधानले भने, “भिडियो जति हे¥यो, उति हेर्न मन लाग्छ । यही कारण मोबाइल मोह पलाउँछ तथा लत लाग्छ । ”
बच्चाहरू हर क्षण मोबाइलकै बारेमा सोच्न थाल्छन् । उनीहरू फुर्सद पाउना साथ मोबाइलमा झुम्मिन्छन् । उनीहरूको पढाइ, सोचाइ र दिनचर्या नै प्रभावित हुन्छ । सेभ चाइल्ड नेटका प्रमुख अनिल रघुवंशी भन्छन,– “कुनै पनि कुराको कुलत राम्रो हुँदैन । मोबाइलको कुलतले पनि बच्चालाई नराम्ररी बिगार्ने गर्छ । ”