अत्तरिया - प्रत्येक वर्ष साउन महिना शुरु भएसंगै महिलाहरुले हरियो,पहेँला चुरा,मेहेन्दी, हरियो लुगा लगाएर महिलाहरू सजिने गर्दछन् । साना-साना बालिकादेखि युवतीहरु पनि साउनमा हरियो चुरा र मेहेन्दी लगाउन उत्साहित हुन्छन् ।
साउन महिनामा जताततै हरियाली हुदा यो महिनालाई विशेष गरि हरियो महिनाको रुपमा पनि चिनिने गर्दछ । हिन्दू धर्मग्रन्थका अनुसार साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् ।
विशेष गरि यो प्रचलन विवाहित महिलाले सौभाग्य पतिकोे रुपमा हरियो चुरा लगाउने गर्दछन भने अविवाहित युवतीले पनि राम्रो वर प्राप्त होस् भन्ने उद्देश्यले हरियो चुरा र मेहन्दी लगाउने प्रचलन चलिआएको छ ।
प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र व्रत बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ भन्ने विश्वास रहेको छ । प्राकृतिक जडिबुटीहरुको लेप हाम्रो शरीरको स्वस्थको लागि अनुकुल हुने भएकाले मेहेन्दीको बिरुवालाई पिसेर हात तथा कपालमा लगाउने चलन पहिले देखिनै चलिआएको चलन हो ।
एकातिर श्रृंगार र अर्कातिर स्वास्थ्यका लागि पनि अनुकुल हुने भएकोले मेहेन्दी लगाउने चलन छ । यसरी हरियो रंग र मेहेन्दीको प्रयोगले प्रकृतिसँग नजिक गराउने र पहेँलोले भगवान शिव प्रतिको त्याग देखाउने भएकोले साउन महिनामा हरियो पहेँलो कपडा, मेहेन्दी र चुरा लगाउने चलन बढेको हो ।
हरिया, पहेँला बस्त्र तथा गरगहना लगाएर भगवान् शिवको पुजा आरधना गर्दा मनोकांक्षा पुरा हुने धार्मिक मान्यता रहेको छ । अर्को कुरा, हातमा लगाएको मेहेन्दी जति गाढा रंगको हुन्छ श्रीमान वा प्रेमीको माया उति नै बढी पाइन्छ भन्ने धार्मिक विश्वास पनि छ ।
साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण रहेकाले यो महिनाभरि महिलाहरु हरियो चुरा र मेहन्दी लगाउँछन् । पछिल्लो समयमा फेसन बनेको हरियो चुरा, हरियो पहिरन, मेहेन्दी लगाउनुको पछाडि धार्मिक महत्व रहेको मानिन्छ ।