दिल्ली – भारत प्रशासित कश्मिरको राजधानी श्रीनगरमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । विपक्षी मुस्लिम नेताहरुलाई नजरबन्दमा राखेर सरकारले इन्टरनेट तथा टेलिफोन सेवासमेत बन्द गरेको छ । श्रीनगरमा मध्यराति नेशल कन्फ्रन्सका नेता उमर अब्दुल्ला, पिडिपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री मेहबुबा बुफ्ेती र कश्मिर पिपुल्क कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई घरमै नजरबन्द गरिएको छ ।
श्रीनगरमा भारतको संविधानको धारा १४४ लागु गरिएको छ । यो धारा लागु भएपछि अर्को आदेश नभए सम्म यस क्षेत्रमा मानिसहरुले आवतजावत गर्न पाउँदैनन् । यस अवधिभर सबै शिक्षण संस्थाहरु पनि बन्द हुनेछन् । सरकारले कयौं शैक्षिक संस्थाका छात्राबास खाली गर्न आदेश दिएको छ । राजधानी श्रीनगर सहित सम्पूर्ण कश्मिर घाटीमा मोबाइल र इन्टरनेट सेवा बन्द भएको पत्रकार माजिद जहाँगिरलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ ।
श्रीनगरबाट ल्याण्डलाइन फोनमा समेत सम्पर्क कटौती गरिएको छ । कश्मिरमा अशान्ति मच्चिन थालेपछि शुक्रबारबाट शुरु भएको पवित्र हिन्दू तीर्थस्थल अमरनाथ यात्रा रद्द गरिएको थियो । अमरनाथ गुफा दर्शनका लागि पुगेका हजारौं भक्तजन र पर्यटकलाई तत्काल कश्मिर घाटी छाडेर जान आग्रह गरिएको थियो ।
यसैबीच कश्मिरको पछिल्लो अवस्थालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार विहान मन्त्रिपरिषद बैठक बोलाएका छन् । उता पाकिस्तानमा पनि संसदीय समिति बैठकमा यो विषयमा छलफल हुँदैछ । उता कश्मिरको पछिल्लो अवस्थाप्रति मुस्लिम देशहरुको संगठन अर्गनाइजेशन अफ इस्लामिक कन्ट्रिज ओआइसीले चिन्ता व्यक्त गरेको छ ।
ओआइसीले भनेको छ भारतीय कब्जामा रहेको कश्मिरको अवस्था नाजुक बन्दै गएको र अतिरिक्त सुरक्षा बलको तैनाथीका साथै प्रतिबन्धित क्लस्टर बमको प्रयोगको खबरले हामीलाई चिन्तित बनाएको छ । कश्मिरमा उग्रपन्थी मुस्लिम संगठनले आक्रमण गर्ने सूचनापछि प्रशासनले केही दिनयता उच्च सुरक्षा सतर्कता अपनाएको थियो । हिन्दू भक्तजन माथि लक्षित गरी अमरनाथ यात्राका क्रममा हिंसा भड्काउने सूचना पछि सरकारले सुरक्षा बल थपेको थियो ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मिरमा नयाँ संकट उत्पन्न हुने चेतावनी यसअघि नै दिइसकेका छन् । कश्मिरको स्वतन्त्रतालाई लिएर भारत र पाकिस्तानबीच बिगत ७० वर्ष देखि लडाइ चलिरहेको छ ।