काठमाण्डौ - कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन् ।
असार २८ गतेको सर्वोच्च अदालतको आदेश अनुसार असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति देउवाले आइतबार संसद्मा विश्वासको मत लिएका हुन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र एमालेका २२ सांसदको साथ पाएका देउवाको पक्षमा १६५ मत खसेको छ ।
देउवाको विपक्षमा ८३ सांसदले हस्ताक्षर गरेका छन् । मतदानमा सहभागी २४९ सांसदमध्ये देउवाको पक्षमा १६५ मत खसेको हो भने विपक्षमा ८३ जनाले हस्ताक्षर गरेका हुन् । सहभागीमध्ये एक सांसदले मत दिएनन् ।
प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार कांग्रेसका सभापति देउवाले विश्वासको मत लिएका हुन्।
देउवालाई विश्वासको मत दिने विषयमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह नै विभाजित भए पनि एमाले अध्यक्ष केपी ओली समूहका केही सांसदले विश्वासको मत दिएका छन् ।
आइतबार संसदमा भएको मत विभाजनमा प्रेम आलेसहितका नेताले देउवाको पक्षमा मतदान गरेका हुन् । देउवालाई एमालेका ओली र नेपाल समूहका गरेर २२ सांसदले विश्वासको मत दिए ।
देउवालाई विश्वासको मत दिने एमाले सांसदमा वरिष्ठ नेता नेपालसहित ओली समूहका पूर्वमन्त्री प्रेमबहादुर आलेसम्म रहेका छन् ।