अत्तरिया -गोदावरी नगरपालिकाका बिभिन्न ठाउँहरु केही क्षणको बर्षामा नै डुब्न थालेका छन् । नगरपालिकाको वडा नम्बर १ र २ मा पर्ने बजार क्षेत्र डुबान मा पर्न थालेको छ । शुक्रबार बिहान देखी आएको बर्षाको कारण बजार क्षेत्र डुबानमा परेको हो ।
नगरपालिकाका दुबै वडामा बसाईको चाप बढदै जाँदा पानीको उचित निकाश हुन नसक्दा डुबान पर्न थालेको हो । बजार क्षेत्र भएर जाने दुई मुख्य नालाहरु पनि स्थानियले मिचेर घर बनाउँदा पानीको उचित निकास हुन छोडेको छ् । अहिले बजार क्षेत्रमा भएर बग्ने नालाहरु भेटाउन समेत गार्हो हुन थालेको छ । तेघरी भएर महेन्द्रनगर रोड हुँदै बरपिपल गल्ली भएर जाने नालामाथी नै घरहरु बनेका छन् । जसका कारण नाला साघुंरिएर पानीको सहज निकास हुन छोडेको छ ।
यस्तै गेरेपानी रिङ्गरोड हुँदा हालको बजरङ मिल भएर जाने नालापनी स्थानियले मिचेपछि पानी को निकास हुन छोडेको छ । नगरपालिका भित्र रहेका भित्री सडकमा बनेका नालीहरु भत्किएर पानीको निकास नै हुन छोडेको छ ।
गोदावरी २ रिङ्गरोडमा रहेको नाली ठाउँ ठाउँमा भत्किए पछि रिङ्गरोड दिनभर डुबानमा परेको छ । न्यु रिङरोड टोल सुधार समितीका अध्यक्ष राम दत्त भट्टले नाली भात्किएर मर्मत नहुँदा डुबानमा परेको बताए । उनले भने -'नाली ठाउँ ठाउँमा भात्किएको छ, कल्भर्टहरु जाम छन् पानीको निकाश नै हुँदैन ।' यो बिषयमा नगरपालिकालाई पनि पटक पटक जानकारी गराएपनी सुनुवाई नभएको उनको गुनासो रहेको छ ।
अत्तरियाका पुराना बासिन्दा मेघराज भट्टले अत्तरियामा पहिले डुबान खासै नहुने गरेको बताए । 'रिङ्गरोड डुबान भएको हामीले कहिले देखेनौ, गोदावरीबाट पानी ल्याएर पनि यँहा खेती गर्ने प्रचलन हो पहिले त तर अहिले सामान्य बर्षामा पनि डुबान हुन थालेको छ उनले भने सबै नालाहरु मिचिएका छन् ,अब धनगढीको जस्तो समस्या यँहा पनि आउने देखिएको छ। नगरपालिकाले यसमा ध्यान दिनुपर्ने हो खै किन दिईरहेको छैन ।'
गोदावरी नगरबिकास समितीका पूर्व अध्यक्ष पुष्पराज भट्टले शुरुको नगरबिकास समितीले यो समस्या समाधानको लागी केही योजना बनाएको भएपनी त्यो बेला नगरबिकास समितीलाई खासै अधिकार नभएकाले बेलैमा यसको निकास हुन नसकेको बताए । उनले तर अब नगरपालिका भईसकेकाले मिचिएका नालाहरुलाई पुरानै अबस्थामा नफर्काए झनै समस्या बढदै जाने बताए ।
गोदावरी नगरपालिकामा धनगढीको तुलनामा जनघन्त्व अहिले नै कम भएकाले यो समस्या बेलैमा नगरपालिकाले समाधान गर्नुपर्नेमा स्थानियको जोड रहेको छ ।एसियाली बिकास बैंकले ब्यबस्थित नगर बनाउने सम्झौता गरेको भएपनी अहिले सम्म काम शुरु हुन सकेको छैन ।