काठमाण्डौ - कोभिड–१९ महामारीका कारण विदेश पढ्न जाने विद्यार्थीको संख्या अघिल्ला वर्षहरूको तुलनामा आधाभन्दा बढी घटेको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २५ हजार ४ सय ५१ जनाले मात्रै वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन ।
कोरोना महामारी सुरु हुनुभन्दा अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा ६३ हजार विद्यार्थीले एनओसी लिएका थिए । २०७७ माघदेखि नेपालमा पनि कोभिड–१९ को संक्रमण देखिएको थियो । त्यस आर्थिक वर्ष (२०७६÷७७) मा ३४ हजार विद्यार्थीले मात्रै एनओसी लिए ।
कोरोना महामारीका कारण एनओसी लिने विद्यार्थीको संख्या घटेको शिक्षा मन्त्रालयअन्तर्गत वैदेशिक अनुमतिपत्र शाखाका प्रमुख नारायणप्रसाद पोखरेलले जानकारी दिए ।
सरकारले नै एनओसी वितरणमा रोक लगाएको, नेपाललगायत देशबाट अन्तरदेशीय उडान रोकिएको र सीमानाकाहरू पनि बन्द भएका कारण एनओसीमा लिनेको संख्यामा कमी आएको उनले जनाए ।
यो तथ्यांकमा विदेशमा अध्ययनकै क्रममा अध्ययनको पाठ्यक्रम, विषय तथा तह परिवर्तन गर्ने विद्यार्थीको संख्या पनि समावेश छ । एनओसी लिएकामध्ये विश्वविद्यालयमा भर्ना भएका सबै विद्यार्थी कोरोनाका कारण सम्बन्धित मुलुक भने पुग्न पाएका छैनन् ।
कोरिया जान नपाएका करिब डेढ सय विद्यार्थी सम्बन्धित मुलुक जान नपाएको भन्दै शिक्षा मन्त्रालयका आएका थिए । जापान, चीन, अस्ट्रेलियालगायत मुलुकका लागि एनओसी लिएका विद्यार्थी पनि त्यहाँ पुग्न पाएका छैनन् ।
गत वर्ष सरकारले यी सबै देशको एनओसी वितरणमा रोक लगाएको छ । कोभिडको दोस्रो लहरका कारण यसपालि जापान, कोरिया, चीन, बंगलादेश र अस्ट्रेलियाका लागि मात्रै एनओसी दिन रोक लगाइएको थियो ।
लकडाउन खुकुलो भएपछि असार ३० गतेदेखि यी देशका लागि पनि एनओसी खुला गरिएको पोखरेलले जनाए । कान्तिपुरवाट