काठमान्डौ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अब पाँचौँ पटक प्रधानमन्त्री हुँदैछन्। सर्वोच्च आदलतले प्रतिनिधिसभा पुनर्स्थापना गर्न र देउवालाई प्रधामन्त्री बनाउन परमादेश जारी गरेपछि उनी फेरि प्रधानमन्त्री बन्ने निश्चित भएकोे हो।
सोमबारको अदालती फैसला लगत्तै सामाजिक सञ्जालमा देउवामाथि एउटा रमाइलो टिप्पणी शुरु भएको छ । उनका ज्योतिषीको भविष्यवाणी मिलेको भन्दै बह्स शुरु भएको छ ।
देउवासँग नाम जोडिएर बेलाबेलामा चर्चामा आउने ज्योतिषी हुन् सुरेशचन्द्र रिजाल। उनले ०७४ साल जेठतिर देउवाको जन्मकुण्डली हेरेका थिए। त्यतिबेला उनले भनेका थिए– ‘तपाईंलाई अझै पटक–पटक प्रधानमन्त्री हुने योग छ।’त्यतिबेला चौथो पटक प्रधानमन्त्री भइसकेका देउवाले तीन पटक औँला भाँच्दै गने– सात पटक त हुन्छु नै।
त्यसको केही समयपछि उनले सार्वजनिक समारोहमै भनिदिए– ज्योतिषीले मलाई सात पटक प्रधानमन्त्री हुने योग छ भनेका छन्। देउवाको यो भनाइपछि केहीले उनको आलोचना गरे, धेरैले उनको मजाक उडाए। यद्यपि, देउवाले ज्योतिषीलाई भरोसा गर्न छाडेनन्।
२०७७ साल फागुन १९ गते मंगलबार बुढानीलकण्ठस्थित देउवा निवासमा ‘आशीर्वादको प्रसाद’ लिएर पुगेका थिए ज्योतिषी सुरेशचन्द्र। देउवालाई प्रसाद दिँदै उनले भनेका थिए– ‘अब चार महिना सावधानी अपनाउनुहोस्।’
त्यतिबेला सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरेको थियो। देउवा प्रधानमन्त्री बन्ने योजनामा थिए। त्यसैले देउवाले चिन्तित हुँदै सोधेका थिए, ‘अब चार महिना के गरेर बस्ने?’
‘ग्रह बलियो त छ। तर पनि असार २६ गतेसम्म रोक्नुहोस्। त्यतिञ्जेल सावधानी अपनाएर निर्णय लिनुपर्छ। कुनै पनि अवस्थामा सत्तामा जानु उचित हुन्न तपाईं,’ ज्योतिषीले भनेका थिए।ज्योतिषी सुरेशचन्द्रका अनुसार २०७७ कात्तिक १ गते र चैत ३१ गतेदेखि दुई वटा छत्रभंग योग परेको थियो।
‘त्यही योगको कारण पुस ५ मा पहिलो पटक संसद् विघटन भयो। त्यसपछि राजनीतिको नेतृत्व लिने वर्ग कमजोर हुँदै आयो। त्यो फेरि दोहोरिएर चैत ३१ गतेदेखि असार २६ गतेसम्म थियो,’ उनले भने। यही योगका कारण असार २६ सम्म सत्तामा जाँदा व्यक्तिगत फाइदा नहुने भन्दै आफूले देउवालाई रोकिन आग्रह गरेको उनले बताए।
‘सुदूरपश्चिम घर भएकाले उहाँ देवीदेउता धेरै मान्नुहुन्छ। आफ्नो परम्परा कुलपूजा हुने बेलामा या कुल सम्झनुपर्यो भने उहाँले मलाई सम्झनुहुन्छ। अनि मात्र अगाडि बढ्नुहुन्छ,’ सुरेशचन्द्र भन्छन्। सुरेशचन्द्रका अनुसार फागुनपछि पनि देउवासँग उनको निरन्तर कुराकानी भइरहेको थियो।
प्रधानमन्त्रीमा देउवाको शपथग्रहणको शुभमूहुर्त पनि आफूले नै निकाल्ने उनले बताए।‘अब शपथग्रहणको शुभमुहूर्त हेर्नुछ। देउवाको यसपछिको योग राम्रो छ,’ उनले भने।