डोटी - नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिदै जाँदा डोटीमा पनि नेपाली कांग्रेसमा चुनावी सरगर्मी वढेको छ। अन्य जिल्लामा झै डोटीमा पनि सभापतिलगायतका आकांक्षीहरु सदरमुकाम केन्द्रीत भएका छन् ।संघीयताको संरचना अनुसार कांग्रेसले पहिलो पटक महाधिवेशन गर्न लागेकाले यस पटकको महाधिवेशन को बिषेश महत्व रहने जिल्लाका नेताहरुको बुझाई रहेको छ ।
जिल्ला सभापतिका आकांक्षीहरु
डोटीमा सभापति उम्मेदवारमा एक दर्जन बढीको नाम चर्चामा रहेका छ । स्व्यम आकांक्षीहरुले आफ्नो नाम सार्बजनिक गर्न थालेका छन् । जसमा देउबा पक्ष कै आकांक्षी बढी देखिएका छन् । सभापतीको लागी हालका सभापति प्रदीप कुमार देउवा, उप-सभापति लक्ष्मण बहादुर सिंह, महासमिति सदस्य भुमिराज वडु, नरेन्द्र सिंह, लोकेन्द्र शाही ,डिल बहादुर बम, पूर्व उपसभापति राम प्रसाद उपाध्यय, दिपक बिष्ट ,नेपाली काङ्ग्रेस डोटी ‘ख’ का क्षेत्रीय सभापति सिताराम जोशी, जिल्ला सदस्य तथा ‘क’ का पूर्वक्षेत्रीय सभापति जीत बहादुर खड्का लगायतका नेताहरु आकांक्षी देखिएका छन् ।
सभापतिमा आंकाक्षा राख्नेमा संस्थापन पक्षका व्यक्तीहरु रहेका छन् । प्रमुख दाबेदार मानिएका पार्टी सभापति प्रदीप कुमार देउवा, उपसभापति लक्ष्मण सिंह, महासमिति सदस्य नरेन्द्र सिंह, लोकेन्द्र शाही, पूर्वउपसभापति तथा कार्यबाहक सभापति समेत चलाइ सकेका उपाध्यय, नेपाली काङ्ग्रेस ‘ख’का क्षेत्रीय सभापति जोशी, पूर्वउपसभापति बिष्ट ,जिल्ला कमिटी सदस्य तथा पूर्वक्षेत्रीय सभापति खड्का लगायतका शेरबहादुर देउवा निकट मानिन्छन् ।
यस्तै अर्का आकांक्षी मानिएका वडु पहिले देउवालाई सहयोग गर्दै आएको भए पनि अहिले काङ्ग्रेस नेता पूर्वमहामन्त्री प्रकाशमान सिंह नजिक मानिन्छन् । त्यस्तै अर्का आकाक्षी बमले १३औं महाधिवेशनमा जिल्लामा सभापति देउवालाई सहयोग गरेपनि केन्द्रमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई सहयोग गरेको कांग्रेसबृत्तमा चर्चा छ ।तर जिल्लामा जसले सभापति देउवाको आशिर्वाद पाउँछन् उही पार्टी सभापति हुनसक्ने कांग्रेस कार्यकर्ताहरुले चर्चा गरिरहेका छन् ।
कांग्रेसको यही असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने संशोधित कार्यतालिका पारित गरेको छ । संशोधित कार्यतालिका अनुसार गाउँ र नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुँदैछ ।
यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते तथा प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।