कञ्चनपुर- भीमदत्त नगरपालिकाले ‘समृद्धिको यात्रा’ नामक पुस्तक प्रकाशित गरेको छ । नगरपालिकाले स्थानीय तहको सरकार बनेको तीन वर्षको अवधिमा भएको विकास निर्माण कार्यलाई सङ्कलन गरी पुस्तक प्रकाशित गरेको हो । भीमदत्त नगरपालिकाले सङ्घीयता पछिका तीन वर्ष (आ.व २०७४।०७५ देखि २०७६।०७७ सम्म) को उपलब्धि तथा प्रगतिहरू लाई समेटेर ‘समृद्धिको यात्रा’ पुस्तक प्रकाशनमा ल्याएको हो ।
पुस्तकमा तीन आर्थिक वर्षमा सम्पादन भएका प्रमुख विकासका गतिविधिहरूलाई तथ्य र तथ्याङ्क सहित राखिएको छ । विषयगत क्षेत्र तथा शाखा अनुसार विनियोजित बजेट, नीति तथा कार्यक्रम, लक्ष्य, उद्देश्य, उपलब्धिहरू समेटिएको सो पुस्तकमा नगरपालिकाको परिचय, सम्पूर्ण जनप्रतिनिधिहरूको तस्बिर, वडागत परिचय, सम्पर्क नम्बर र नगरपालिकामा कार्यरत कर्मचारीहरूको विवरणहरू सुरक्षित गरिएको छ ।
भीमदत्त नगरपालिका सामाजिक न्याय सहितको दिगो समृद्धि र विकासको यात्रामा अग्रसर रहेकोले उक्त पुस्तकको नाम समृद्धिको यात्रा राखिएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए । उनका अनुसार राज्य पुनर्संरचना पछि बनेको स्थानीय तहको सरकारसँग जनताका आशा, अपेक्षाहरू थुप्रै रहेकोले प्राथमिकताको आधारमा विकास रणनीतिलाई अघि बढाइएको छ ।
‘नगरवासीको सर्वाङ्गीण समृद्धिको सपनालाई मूर्त रूप दिन नगरको दिगो समुन्नतिका लागि सम्भावित क्षेत्रहरूको पहिचान गरी २५ वर्षे गुरु योजना बनाएर योजनाबद्ध तरिकाले विकासको चरणमा अगाडी बढेका छौँ ।’ उनले भने ‘नगरको समग्र विकासका लागि पुर्वाधारसँगसँगै सामाजिक विकास र नागरिक उत्थानलाई जोड दिएका छौँ ।’ साथै उनले चुनावी वाचा र नगरको विकासका लागी आफूहरू प्रतिबद्ध रहेको समेत स्पष्ट पारे ।
पुस्तकको सैद्धान्तिक लेखन र फोटो सङ्कलन प्रशासकीय अधिकृत सुवास अधिकारी र सूचना तथा प्रविधि अधिकृत विनय कलौनीले गरेका हुन भने डिजाइनिङ्ग र अन्तिम सम्पादन गर्ने कार्य नगर प्रमुखको सचिवालयका कर्मचारी दिनेश राज भट्ट ले गरेका हुन ।