अत्तरिया - कैलालीमा जारी निषेधाज्ञा थप खुकुलो पारिएको छ । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि गत बैशाख १६ गतेदेखी जारी प्रमुख निषेधाज्ञालाइए आजदेखी थप खुकुलो पारिएको हो । जस अनुसार अब होटलहरु पनि सञ्चालनमा आउने भएका छन् ।
आदेशमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म होटल,रेष्टुरेन्ट,फास्टफुड,खाजा तथा चिया पसलहरु सञ्चालन गर्न सकिने जनाएको छ । यस्तै आजबाट यहाँ सबै सार्वजनिक सवारीसाधन चल्ने भएका छन् ।
सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली पनि हटाइएसंगै सबै प्रकारका सवारी साधनहरु चल्ने भएका हुन् । जिल्लाभित्र स्वास्थ्य मापदण्ड पालना गर्दै सिट क्षमताअनुसार यात्रु राखेर सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जारी गरेको आदेशमा भनिएको छ ।
अन्य जिल्ला जान र अन्य जिल्लाबाट कैलाली आउनका लागि भने जिल्ला प्रशासन कार्यालयको स्वीकृती लिनुपर्ने जनाएको छ । सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, पार्क, मनोरञ्जनस्थल, सैलुन, ब्यूटीपार्लर, जिमखाना, पुस्तकालय, संग्राहालय, शिक्षणसस्था, समूहमा खेलीने दर्शकसहितका खेलकुदबाहेक अन्य व्यापार व्यवसायहरु विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
निषेधाज्ञा साउन १ गते सम्मका लागि लम्बाइएको छ ।