बैतडी - जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाको लागि काम अगाडी बढेको छ ।
संघीय सरकारबाट १ करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख बजेट प्राप्त भएपछि प्लान्ट स्थापनाको काम थालिएको हो ।असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरि हेल्थ केयर सप्लायर्स काठमाडौंसंग सम्झौता भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिए।
प्लान्ट स्थापनाका लागि बोलपत्र आह्वान गरि सप्लायर्स छनौट गरेका हौं उनले भने,‘प्लान्ट खरीद गरी जडानका लागि बोलपत्र आह्वान गरि छनौट भएको छ, यो आर्थिक वर्षभित्र प्लान्ट स्थापना गर्ने भनेर सम्झौता गरेका छौं।’ कोरोना महामारीको दोस्रो लहर फैलिएपछि जिल्लामा अक्सिजन अभाव भएपछि प्रदेश सरकार र संघीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट बिनियोजन गरेको थियो ।
प्रदेश र संघ सरकारले बिनियोजन गरेको बजेटलाई एउटैमा मिलाएर प्लानट स्थापनाको तयारीको भएको हो । प्लान्ट स्थापना भएपछि कोरोना महामारीका लागि मात्रै नभएर निर्माणधिन ५० शैय्याको अस्पतालका लागि पनि सहयोग पुग्ने प्रमुख डाक्टर जोशीको भनाई छ ।
उनले भने,‘प्लान्ट स्थापनाले ५० शैय्याको अस्पाताल सञ्चालनमा आएपछि त्यसका लागि पनि सहयोग पुग्छ,कोरोनाका बिरामीका लागि मात्रै नभएर अन्य अप्रेशन,आईसियू सञ्चालनका लागि पनि सजिलो हुन्छ ।’जिल्ला अस्पताल बैतडीमा १ सय बढी अक्सिजन सिलिण्डर छन् भने ३६ वटा अक्सिजन कन्सन्ट्रेटर छन् ।
भारतसंग सीमा जोडिएको बैतडीमा हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको छ ।कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि यहाँ असार ३१ सम्म निषेधाज्ञा जारी गरिएको छ ।