अत्तरिया - कैलालीको अत्तरियामा नयाँ खानेपानी आयोजना निर्माणका लागि नगर विकास कोषले २ करोड बढी ऋण लगानी गर्ने भएको छ ।
अत्तरिया साना शहरी खानेपानी आयोजना अन्तर्गत अत्तरिया सह–लगानी खानेपानी तथा सरसफाइ आयोजना निर्माणका लागि नगर विकास कोषले २ करोड ६६ लाख ९७ हजार ६ सय रुपैयाँ ऋण लगानी गर्ने भएको हो ।
यसका लागि कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष टीकादत्त जोशी बीच शुक्रबार ऋण सम्झौता भएको छ ।
सम्झौता अनुसार उक्त आयोजनामा नेपाल सरकारबाट ७० प्रतिशत अनुदान, नगर विकास कोषबाट २० प्रतिशत ऋण लगानी र १० प्रतिशत रकम उपभोक्ता संस्थाबाट बेहोरिने प्रावधान छ ।
तर अत्तरियामा नयाँ निर्माण हुने खानपानी आयोजनाका लागि उपभोक्ता संस्थाबाट १० प्रतिशत र कोषको २० प्रतिशत ऋण गरी ३० प्रतिशत लगानी हुने संस्थाका अध्यक्ष टीकादत्त जोशीले जानकारी दिए । उनले ऋणसंगै १० प्रतिशत लगानी बेहोर्न नसक्ने भएपछि यसका लागि गोदावरी नगरपालिकालाई पनि आग्रह गरिएको बताए ।
नगरपालिकाका तर्फवाट ५ प्रतिशत सहयोग प्राप्त हुने भएपछि आफ्नो लगानी २५ प्रतिशत हुने उनले बताए ।
कोषले खानेपानी आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भएको बोलपत्रदाताले पेस गरेको ठेक्का कबोल अंक खानेपानी आपूर्तितर्फको लागत १३ करोड १९ लाख ८८ हजारको २० प्रतिशतले हुने २ करोड ६३ लाख ९७ हजार कोषबाट ऋण लगानी गर्नेछ ।
गोदावरी नगरपालिका वडा नं २ तेघरीमा नयाँ खानेपानी आयोजना निर्माण गर्न लागिएको छ ।
आयोजना सम्पन्न पश्चात वडा नम्बर २ का ६ हजार ७ सय ७८ जनसंख्यालाई २ वटा डिप बोरिङको माध्यमबाट २४ सै घन्टा खानेपानी सेवा पु¥याउने लक्ष्य राखिएको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएको छ ।