अत्तरिया - असार नलाग्दै भएको अबिरल बर्षासंगै आएका बाढी र पहिरोवाट ३२ जनाको मृत्यु भएको छ । यस बर्ष जेठ ३१ गतेदेखि असार १७ गतेको अवधिमा अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाका ६ जना सहित देशभर ३२ जनाको मृत्यु भएको हो ।
यस अबधिमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा ५ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । त्यसपछि डोटीमा चार जना र रोल्पामा तीन जनाको मृत्यु भएको छ । रौतहट, चितवन र तनहुँमा २–२ जनाको मृत्यु भएको छ ।
१४ जिल्लामा एक–एक जनाको मृत्यु भएको छ । पाँचथर, सप्तरी, सिन्धुली,काभ्रे, गोरखा, कास्की, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, जुम्ला, कालीकोट, बाजुरा र बझाङमा एक–एक जनाको मृत्यु भएको हो ।
यस अबधिमा २९ जना बेपत्ता भएका छन् भने १६१ परिवार प्रभावित भएका छन् भने २ करोड ४६ लाख बराबरको भौतिक सम्पत्ति क्षति भएको छ ।
२०७७ सालमा यही अवधिमा बाढी र पहिरोबाट २३ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । यो अवधिमा ३० जिल्लाका ६७ परिवार प्रभावित भएका थिए भने ७५ लाख २७ हजार बराबरको भौतिक क्षति भएको थियो ।
गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकलाई हेर्दा यस वर्ष मनसुनको सुरुआती चरणमै गत वर्षको भन्दा बढी जनधनको क्षति भएको देखिन्छ ।
यस वर्षको मनसुन जेठ २८ गते नेपाल भित्रिएको थियो ।