धनगढी - मन्दिर लगायतका धार्मिक स्थलका नाममा करोडौं रकम खर्च गर्ने सिलसिलाले सुदूरपश्चिम प्रदेशमा अगामी वर्ष पनि निरन्तरता पाउने भएको छ । विगतमा जस्तै प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि एक सय ७२ वटा मन्दिर, चर्च र गुम्बा निर्माण गर्न १६ करोड ७२ लाख बजेट विनियोजन भएको छ । जसमा एउटा चर्च, तीनवटा गुम्बा र बाँकी सबै मन्दिर रहेको छ ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पर्यटन क्षेत्रमा विनियोजन गरेको बजेटको झण्डै एक तिहाइ बजेट मन्दिर लगायतका धार्मिक संस्थाकै नाममा दिइएको छ । आगामी आर्थिक वर्षका लागि दुई अर्ब ११ करोड बजेट पाएको मन्त्रालयले पर्यटन क्षेत्रमा झण्डै २५ प्रतिशत ५२ करोड बजेट छुट्याएकोमा मन्दिर, चर्च र गुम्बा तथा विभिन्न संरचना निर्माण शीर्षकमा मात्रै झण्डै १७ करोड रुपैयाँ छुट्याइएको छ ।प्रदेश सरकारले मन्दिर निर्माणको एउटै योजनामा एक करोड रुपैयाँसम्म बजेट विनियोजन गरेको छ ।
सरकारको वार्षिक कार्यक्रम पुस्तिकामा सबैभन्दा धेरै १० लाख रुपैयाँ दरका ६० योजना छन् । यसरी सरकारले ६० योजनामा मात्र ६ करोड बजेट छुट्याएको छ ।पाँच लाख दरका ४७ योजनामा दुई करोड ३५ लाख, आठ लाख दरका २४ योजनामा एक करोड ९२ लाख, १५ लाख दरका १० योजनामा एक करोड ५० लाख, सात लाख दरका १९ योजनामा एक करोड ३३ लाख, ६ लाख दरका पाँच वटा योजनामा ३० लाख रुपैयाँ बजेट छुट्याएको छ ।
मन्दिर निर्माणकै एउटा योजनामा एक करोड, ५० लाख दरको दुई वटा योजनामा एक करोड, २५ लाख दरका दुई वटा योजनामा ५० लाख, ३० लाखको एउटा योजना, २० लाखका दुई योजनामा ४० लाख र एउटा योजनामा १२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।प्रदेश सरकारले दुईदेखि तीन लाख रुपैयाँ लागतका दर्जनौं योजना पनि बजेटमा समावेश गरेको छ ।
तीन वटा गुम्बा निर्माणका लागि ४० लाख र एउटा चर्चका लागि ५ लाख रुपैयाँ बजेट पनि छुट्याइएको छ । जसमा गुम्बामा २५ लाख, ८ लाख र ७ लाखका योजना छन् ।सरकारले विगतका वर्षमा जस्तै केहीबाहेक अधिकांश कुलदेवता, समुदाय र जात विशेषका मन्दिरमा करोडौं बजेट खन्याएपछि दुरुपयोग हुने आशंका गरिएको छ ।
यस्तै प्रदेश सरकारले आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहको कुलदेवताको मन्दिरमा एक करोड बजेट विनियोजन गरेको छ । शाहकै निर्वाचन क्षेत्रमा पर्ने बाजुराको खप्तड छेडेदेह गाउँपालिका–४ मा रहेको ज्यूलेख मन्दिर निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको हो ।
मन्त्री शाहको कुल देवतासमेत रहेको ज्यूलेख मन्दिरमा चुनावका बेलासमेत उनले पूजापाठ गरेका थिए । मन्त्री शाह मात्र नभएर प्रदेशका ९ वटै जिल्लामा यसरी नै समुदाय विशेषका मन्दिरमा करोडौं बजेट विनियोजन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा मन्दिर निर्माणमा ३० करोड, आर्थिक वर्ष २०७६/७७ मा १६ करोड र चालु आर्थिक वर्षमा करिब २४ करोड बजेट विनियोजन गरेको थियो ।