कैलाली - टीकापुरकी २३ वर्षीया १ युवतीलाई कोरोना भाइरसको संक्रमण देखियो । कोरोनाका लक्षण देखिएपछि निकै कमजोर भएकी उनलाई संक्रमण देखिएको २८ दिनपछि संक्रमण मुक्त भयो ।संक्रमणबाट मुक्त भए पनि उनको स्वास्थ्यमा समस्या रहिरह्यो ।
‘मलाई सास फेर्न गाह्रो हुने, छाती दुख्ने, खोकी लाग्ने समस्याले छोडेन,’ युवतीले भनिन्, ‘कोरोना संक्रमण निको भइसकेपछि पनि स्वास्थ्य समस्या रहेपछि म टीकापुर अस्पताल गएँ ।’ स्वास्थ्य परीक्षण गर्दा अझै समस्या रहेको देखिएपछि चिकित्सकले ती युवतीलाई औषधि दिए र खानपिनमा ध्यान दिन भने । संक्रमण निको भइसकेपछि पनि समस्या हुने अनुभव उनको छ ।
टीकापुरका ४० वर्षीय युवकलाई संक्रमण निको भएको १ महिना भइसकेको छ । बरु संक्रमणको समयमा कुनै स्वास्थ्य समस्या नदेखिएका युवक संक्रमणमुक्त भएपछि अस्वस्थ छन् ।सास फेर्न गाह्रो हुने र अक्सिजनको मात्रा बेलाबेला घटिरहने समस्या भएको उनी बताउँछन् । संक्रमणबाट मुक्त भइसक्दा पनि सुधार नआएपछि हाल उनी काठमाडौंमा उपचाररत छन् ।
‘परिवार नै संक्रमित हुँदा धेरै समस्या भयो, उपचारका लागि आर्थिक जोहो गर्न निकै कठिन भयो,’ युवकले भने, ‘काठमाडौंमा बस्न, खान र उपचार निकै खर्चिलो छ । जताततै आफन्तसँग ऋण मागेर चलिरहेको छु । फोक्सोमा संक्रमण भएको देखिएको छ ।
’जानकी गाउँपालिकाकी ५० वर्षीय महिलालाई पनि कोरोना पोजेटिभ देखियो । उनको २१ दिनमा नेगेटिभ रिपोर्ट आयो तर स्वास्थ्यमा सुधार भने आएन । स्वास्थ्य जाँचपछि अब चिकित्सकले इनहेलर (सास फेर्न सहज हुने औषधि) औषधि सेवन गर्नु भनेको उनले जानकारी दिइन् । रासस