कैलाली -नेपाली कांग्रेसको आसन्न महाधिवेशनको मिति नजिकिँदै जाँदा कैलालीमा पार्टी नेतृत्व लिनका लागि नेताको दौडधूप बढ्न थालेको छ । पार्टीका वडा तहदेखि केन्द्रसम्मको अधिवेशनको तयारी थालिएसँगै नेताहरुको पछिल्ला दिनमा दौडधूप पनि बढेको हो ।
जनसङ्ख्याका दृष्टिले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो र प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र भएको यस जिल्लामा हुने आम चुनाव वा अन्य कुनै पनि पार्टी, सङ्घ सङ्गठनको चुनाव होस् समग्र प्रदेशका जिल्लाको चुनावलाई समेत प्रभावित पार्ने गरेको देखिन्छ । त्यसैले यस जिल्लामा हुने हरेक चुनावी गतिविधिलाई प्रदेशवासीले बढी चासोका साथ हेर्ने गर्दछन् ।
पार्टी जिल्ला सभापति नरनारायण शाह (मनु) ले दुई कार्यकाल पार्टी सभापति पदको जिम्मेवारी पूरा गरिसकेका छन् । उनलाई तेस्रो पटक जिल्ला सभापतिको नेतृत्व लिन पार्टी विधानले मिल्दैन । जिल्ला सभापतिका लागि प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, कमल शाह, डा.रणबहादुर रावल, दिनेशराज जोशी, गणेश देउवा लगायतको नाम चर्चामा छ । सभापति पदका आकाङ्क्षी धेरै देखिए पनि बडुवाल, बम र भट्ट अरूभन्दा सशक्त उम्मेदवारका रुपमा देखिएको कांग्रेसका कार्यकर्ताको भनाइ छ ।
युवा नेता बडुवाल अघिल्लो जिल्ला अधिवेशनमा पार्टी सभापति पदमा पनि प्रत्यासी बनेका थिए । पार्टीको महासमिति सदस्यसमेत रहेका भट्ट २०६२/६३ को जनआन्दोलनका घाइते योद्धा रहेका छन् । बम हालको जिल्ला उपसभापति हुन् ।
थारू समुदायबाट पार्टीको राजनीतिमा लागेका नेता खेमराज चौधरी पनि बलियो उम्मेदवार मानिन्छन् । पार्टी सङ्गठनमा जिल्लामा सुनिलकुमार भण्डारी, चन्द्रसिंह भट्टराई, नरनारायण शाह, गोविन्दराज जोशी, रणबहादुर रावल, नृपबहादुर ओड, फकिरसिंह कडायत, जङ्गबहादुर साउद, ईश्वरी न्यौपाने लगायतका नेताको प्रभाव रहेको छ ।
जिल्लामा थारू समुदायको ठूलो उपस्थिति छ । यो समुदायबाट कांग्रेसको राजनीतिमा लाग्नुभएका रामजनम चौधरी, बुद्धिसागर चौधरी, मानबहादुर महतो, प्यारेलाल रानाथारू, राजसमझ चौधरी र खेमराज चौधरीको पनि पार्टीमा राम्रो प्रभाव छ ।
जिल्ला सङ्गठनमा प्रभाव रहेका नेताभन्दा पनि केन्द्रीय सभापति शेरबहादुर देउवाले इच्छ्याएको नेताले नै जिल्ला सभापतिमा जित्नेमा दुई मत नरहेको बताइन्छ । कैलालीको गोदावरी नगरका कांग्रेस सभापति हेमप्रकाश उप्रेती सभापतिका आकाङ्क्षाको दौडधुप देखिए पनि अहिल्यै कसले जित्ने भन्नेमा अनुमान लगाउन गाह्रो भएको बताउँछन् ।
उनले भने, “क्रियाशील सदस्यताको अन्तिम नामावली नआउन्जेल अलमल नै देखिन्छ, सभापतिका आकाङ्क्षीले सहयोग मागिरहनुभए पनि केन्द्रबाट हुने खेलले को सभापति हुने भन्ने निर्भर हुन्छ ।” कैलाली क्षेत्र नं १ मा क्रियाशील सदस्यता विवाद देखिएको बताइएको छ । पार्टीका लागि लामो समयदेखि गरेको त्याग, तपस्याका कारण र साथीहरुको सल्लाहबमोजिम आफू जिल्ला सभापति पदको आकाङ्क्षी रहेको नारायणदत्त भट्ट बताउँछन् । “सबै साथीसँग सहयोग मागिरहेको छु”, उनले भने, “आफूलाई सभापतिमा सहयोग गर्ने कुरा न्यायोचित हुन्छ भन्ने लाग्छ ।”
सभापति लगायतका पदका आकाङ्क्षी पार्टीका कार्यकर्ताको घरमै पुगेर आ–आफ्नो पक्षमा माहोल बनाउन थालेका छन् । प्रदेशका अधिकांश जिल्लाको काँग्रेस पार्टी सङ्गठनमा केन्द्रीय सभापति देउवाको प्रभाव छ । गत निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको आरोपमा कारबाहीमा पर्नुभएका पूर्वसांसद पुस्करनाथ ओझाको पार्टीको आउने अधिवेशनमा भने खास प्रभाव नदेखिने कतिपय कांग्रेस कार्यकर्ताको भनाइ छ ।
एक काँग्रेसका जिल्ला नेताले भने, “उहाँले पार्टी राजनीतिमा आफूलाई सक्नुभयो, उहाँलाई साथ र सहयोग गर्दै आएका आफूहरुलाई पनि राजनीतिमा अगाडि बढ्ने वातावरण बिगार्नुभयो ।” ओझालाई प्रतिनिधिसभाको गत निर्वाचनमा कैलाली क्षेत्र नं ५ का प्रत्यासी डा.आरजु राणा देउवालाई पराजित गर्न अन्तर्घात गरेको आरोप लागेको थियो । कांग्रेस महाधिवेशनका लागि प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार कैलालीको अधिवेशन आगामी साउन २६ गते हुने कार्यक्रम छ । रासस