कञ्चनपुर - भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको छ ।
जग्गाधनी लालपुर्जा वितरणका लागि आयोग र यहाँका स्थानीय तहबिच भएको सहमति अनुसार कृष्णपुर नगरपालिकाले अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षणका लागि जग्गा नापजाँच एवम् अभिलेखीकरण कामको सुरुवात गरेको छ ।नगरप्रमुख कर्णबहादुर हमालले अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षणका लागि जग्गा नापजाँच एवम् अभिलेखीकरण कामको सोमबार कार्यालय परिसरमै जिपिएस प्वाइन्ट राख्ने कार्यको शुभारम्भ गरे ।
सो अवसरमा उनले जग्गा नापजाँच एवम् अभिलेखीकरण कार्यले पाँच दशक अघिको जग्गा सम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरे । “भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाको मालिक बनाउन पाउँदा निकै खुसी लागेको छ”, उनले भने , “तीन पुस्तासम्म चलन भोग गरेको जग्गाको स्वामित्व पाउन नसकेका परिवार अब जग्गाको मालिक बन्ने भएका छन् । यस कार्यमा सबैको साथ र सहयोगको आवश्यकता छ ।”
अयोगका जिल्ला अध्यक्ष कमला बोहराले गैर सुकुम्वासीलाई जग्गा नदिइने बताउँदै वास्तविक सुकुम्वासीलाई जग्गाको मालिक बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । “कार्यविधि अनुसार नै सबै काम अगाडि बढाउँछौँ”, उनले भने, “कार्यविधि विपरीत कार्य गर्नेलाई दण्डित पनि गर्छौ । जसको अधिकार क्षेत्र भित्र जग्गा छ, त्यसैले पाउँछ ।”
तत्कालीन जिल्ला विकास समितिका पूर्व उपसभापति राजेन्द्र सिंह रावलले वर्षौँदेखि वन क्षेत्रमा छाप्रो हालेर बस्दै आएका परिवारले जग्गा पाउन थालेकोमा खुसी व्यक्त गर्दै लालपुर्जा पाइसकेपछि उनीहरू वास्तविक रुपमा जग्गाको मालिक बन्ने बताए । कृष्णपुरका पूर्व गाविस अध्यक्ष जयराज पाण्डेयले जग्गासँग जनताको भावना, आवश्यकता र हक जोडिएकाले विगतका आयोगको जस्तो त्रुटि नगरी सबैले जग्गाको स्वामित्व पाउने गरी जग्गा नाप जाँच गरेर जग्गा धनीपूर्जा वितरण गर्नुपर्ने बताए ।
भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी लालपुर्जा वितरणका लागि आयोग र यहाँका स्थानीय तहबिच गत कात्तिक २७ गते सम्झौता भएको थियो । जिल्लामा नौ स्थानीय तह रहेका छन् । आयोगले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीको लगत लिने कार्य सकेपछि जग्गा जाँच अघि बढाएको हो । यो कार्य जिल्लाका सबै स्थानीय तहमा गरिने छ । लगत लिइने कार्यका लागि अनुसूची २ आयोगको जिल्लास्थित कार्यालयबाट, भूमिहीन, दलित र सुकुम्वासीका लागि अनुसूची ३ र अव्यवस्थित बसोवासीका लागि अनुसूची ४ फारम स्थानीय तहबाट भर्ने कार्य गरिएको छ ।
कृष्णपुर नगरपालिकामा भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीको सङ्ख्या १५ हजार ३०४ जना रहेको बताइएको छ । तीमध्ये भूमिहीन दलित ५७, सुकुम्बासी १३६ र अव्यवस्थित बसोवासी १४ हजार ९५५ जना रहेका छन् । उनीहरूमध्ये एक हजार ७११ जनाको लगत कम्प्युटर प्रविष्ट गरिएको छ । लगतलाई कम्प्युटरमा प्रविष्ट गर्नका लागि छ कर्मचारीलाई नगरपालिकाले खटाएको छ । नगरपालिकामा जग्गा सम्बन्धी काम गर्नका लागि आयोगको केन्द्रीय कार्यालयबाट दुई सर्वेक्षक र दुई अमिनलाई खटाइएको छ । नगरपालिकाले पनि थप दुई सर्वेक्षक र दुई अमिनका लागि दरखास्त आव्हान गरी छनौट गरेको छ । एकरदुई दिन भित्रै नियुक्ति पत्र दिई चारै जनालाई जग्गा नाप जाँचका लागि खटाइने नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले बताए।
जग्गा नापजाँच कार्यलाई अघि बढाउनका लागि आयोगको केन्द्रीय कार्यालयबाट ९ वटै स्थानीय तहमा दुईरदुई सर्वेक्षक र दुईरदुई अमिनलाई खटाइएको छ । कञ्चनपुरमा हालसम्म तीन हजार एक सय ५१ जना भूमिहीन दलित र सुकुम्वासीले बसोबासका लागि फाराम भरेका छन् । यसै गरी ४९ हजार २४ अव्यवस्थित बसोवासी र आयोगको जिल्लास्थित कार्यालयबाट छ हजार चार सय १७ जना जग्गाको अधुरो कार्यका लागि फारम भरेका छन् ।रासस