अत्तरिया -नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिती घोषणा भए सँगै कैलाली क्षेत्र नम्बर ४ मा पनि चहलपहल बढेको छ । काँग्रेसका स्थानिय नेता कार्यकर्ता क्रियाशिल सदस्य भेटन वडा वडामा केन्द्रित हुन थालेका छन । गोदावरी नगरपालिकाका बिभिन्न वडाहरुमा काँग्रेसका अगुवा नेताहरु आ -आफ्नो समुह बनाएर पुग्न थालेका छन ।
गोदावरी काँग्रेसमा बिगत जस्तै अहिले पनि दुई धारमा नेता कार्यकर्ताहरु बिभाजित भएर वडा वडामा पुग्न थालेका छन । गत निर्बाचनमा गोदावरी नगरपालिकाको मेयरमा पराजित बिरेन्द्र भट्ट र उपमेअरमा पराजित भगबती पाठकको समुह एकधारमा रहेर वडा - वडामा पुगेका छन । उनीहरुको समुहमा काँग्रेस कैलाली जिल्ला सदस्य बसन्त रोकाया , काँग्रेसका नेता उत्तम कठायत ,टिकादत्त जोशी लगाएतका रहेका छन ।

त्यस्तै काँग्रेसकै अर्को समुह पनि वडा वडामा पुग्न थालेको छ । उक्त समुहमा क्षेत्रिय सभापती दिनेशराज जोशी, गोदावरी नगर सभापती हेमप्रकाश उप्रेती ,नगर सचिब तेज भट्ट , काँग्रेसका अगुवा नेता पदमराज भट्ट ,धर्मराज भट्ट ,सुरत कार्की लगाएतका रहेका छन ।
दुबै पक्ष केन्द्रमा देउबा पक्षिय रहेपनी स्थानिय नेत्रित्व चयन गर्न परेमा भने दुई धारमा बिभाजित हुँदै आएको छ । गत निर्बाचनमा पनि दुई धारमा काँग्रेसका नेता कार्यकर्ता बिभाजित हुँदा स्थानिय सरकारको नेत्रित्व गुमाएको यँहाका काँग्रेसका मतदाताहरुले बताउँदै आएका छन ।

निर्बाचन भएको ४ बर्ष बितीसक्दा पनि अहिले पनि यँहाको काँग्रेस एक हुन सकेको छैन । १४ औं महाधिवेशनमा आफु पक्षिय नेत्रित्वलाई स्थापित गराउन दुबै पक्षले प्रारम्भिक अभ्यास शुरु गरेको आँकलन हुन थालेको छ ।
काँग्रेसको समस्या
बिगत देखी दुई चिरामा बांडिएका स्थानिय नेता कार्यकर्ताले एक नहुनमा एक अर्कालाई दोष दिंदै आएका छन । बिरेन्द्र भट्ट पक्षिय नेताहरुले गत निर्बाचनमा आफ्ना उम्मेदवारको हार हुनुमा काँग्रेस कै अर्को पक्षको हात रहेको आरोप लगाउँदै आएका छन । अन्तरर्घातको कारण गत निर्बाचन गुमाउनु परेको सो समुहको बुझाई रहेको छ ।
निर्बाचन लगतै देखी अन्तरर्घात गर्नेलाई कार्बाही गर्नुपर्ने सो समुहले माग गर्दै आएको भएपनी अहिले सम्म कसैलाई कार्बाही हुन सकेको छैन । तर अर्को समुह भने उक्त दाबीमा कुनै सत्यता नै नरहेको बताउंदै आएको छ् । उक्त समुहले टिकट बितरण मा नै केन्द्रले गलत गरेपछि चुनावमा हार ब्यहोर्नु परेको बुझाई छ। उक्त समुहको बुझाईमा केन्द्रले मेयर उपमेयरको टिकट नै आफ्नो पक्षलाई दिनुपर्ने रहेको थियो ।
अहिले यँहाका धेरै जसो काँग्रेस नेता कार्यकर्ताहरु समकालिन रहेकाले पनि एकले अर्कालाई सहजै स्विकार गर्न नसक्ने अबस्था बनेको छ । पुराना नेताहरुले पनि यस क्षेत्रमा काँग्रेसलाई एकजुट बनाउन नसकेको स्वय दोस्रो पुष्ताको आरोप रहेको छ ।
पुराना सांसद भएकाहरुले पनि स्थानिय स्तर मै एक गुटलाई समात्ने गरेका कारण पार्टी भित्र मेल हुनुको साटो झनै गुट उपगुट बढदै गएको स्थानिय नेताहरुको बुझाई रहेको छ ।