काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन आफूले प्रस्ताव नगरेको प्रस्ट पारेका छन्।
मदन भण्डारी फाउन्डेसनले भण्डारीको जन्मजयन्तीका अवसरमा सोमबार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बौलाहा कुकुरले टोकेको छ र? कोही मानिस नपाएर मैले माधव नेपाललाई प्रस्ताव राखौंला र? कहिले अध्यक्ष त कहिले प्रधानमन्त्री राखेको छ भनेर हिँडिरहेका छन्। मलाई बौलाहा कुकुरले टोकेको छ र प्रचण्डका पुच्छर हुन पछाडि–पछाडि सँगै हुने व्यक्तिलाई प्रधानमन्त्री बनाउन।’
ओलीले प्रचण्डपथ नेपाली कांग्रेसको पनि मार्गदर्शक सिद्धान्त बनिसकेको उनले टिप्पणी गरे। ‘माधव नेपाल भन्ने एकजना मानिस छन्। कांग्रेसको पछि लागेका छन्। यस्तो लाजसरम पचेको मानिसको चर्चा सकारात्मक र नकारात्मक दुवै हुन्छ,’ उनले भने, ‘झुटको राजनीति कसरी गर्छन् भन्ने दुई तीन दिन अगाडि सुन्नुभयो होला मैले माधव नेपाल भन्ने व्यक्तिलाई मैले प्रस्ताव राखे भनेर उनले भनेर हिँडेका छन् रे।’
पार्टीलाई ध्वस्त बनाउने, कम्युनिष्ट आन्दोलन ध्वस्त बनाउने तर शेरबहादुर देउवालाई धोका नदिने कसम खाएर माधव नेपाल लागेको उनको आरोप छ।
‘उनी शेरबहादुर देउवाकै पार्टी ज्वाइन गर्न सक्छन्, कार्यकर्ता भएर हिँडेका छन्,’ उनले भने, ‘प्रचण्डको पार्टी ज्वाइन गर्ने त छँदै छन्। अन्तिममा हुने त त्यही हो।’
गएको शनिबार माधवकुमार नेपालले विपक्षी गठबन्धनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीको अफर गरेको बताएका थिए।