मार्तडी - असारको सुरुदेखि आएको अविरल वर्षाका कारण बाजुराको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै खोलामा आएको बाढी र पहिरोले गर्दा दर्जनौँ बस्ती जोखिममा रहेका छन्।
अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका सयौँ बस्ती उच्च जोखिममा परेका छन्।
जिल्लाको उत्तरपूर्वी भेगको हिमाली गाउँपालिका–५ क्युडीका ९४ परिवार गाउँभन्दा तलपट्टिको सडक भासिएर पहिरो बग्न थालेपछि विस्थापित भएको गाउँपालिकाका प्रधानमन्त्री रोजगार संयोजक बिर्खबहादुर पाण्डेले बताए।
उनका अनुसार गाउँभन्दा तलपट्टिको खोलामा गत वर्ष पनि पहिरो गएको र अहिले पनि गाउँ नजिकै रुगिन हुँदै विच्छ्या जोड्ने सडक निर्माण भएपछि सडक भासिएर पहिरो गएकाले बस्ती नै विस्थापित भएको हो।
सडकका कारणले गाउँ नै भासिन थालेपछि स्थानीयवासी त्रिपालको सहारामा बस्दै आएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए।
सडकमाथि गाउँ भएकाले पूरै जमीन भासिएका कारण स्थानीयवासीले आफ्नो घर नै छाडेर खुला ठाउँमा त्रिपालमा रात बिताउने गरेको भण्डारीले बताए। पहिरोले विस्थापित भएका उनीहरु एउटै त्रिपालमा चार परिवारले रात बिताउने छन्।
विस्थापित भएको खबर आएपनि अविरल वर्षाका कारण क्युडी जान नसकिएको र केही दिनपछि गएर स्थलगत अनुगमन गर्दा बस्ती नै सार्नुपर्ने अवस्था भएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए।
बस्ती नै विस्थापित भएपछि गाउँपालिकाले राहत र उद्धारका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा आग्रह गर्ने अध्यक्ष मल्लले बताए।
प्रहरी, गाउँपालिका कर्मचारी र वडाध्यक्षको संयुक्त अनुगमनबाट पहिरोले विस्थापित भएका क्युडी बस्तीका परिवारका बारेमा मुचुल्का तयार पारेर पालिकामा बुझाएको गाउँपालिकाले जनाएको छ। रासस