दार्चुला - जिल्लामा आइतबार देखि सबै सरकारी कार्यालयको सेवा प्रवाह नियमित भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समिति दार्चुलाको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको जिल्ला कोभिड–१९ व्यवस्थापन समितका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले बताए ।
जिल्लामा एक हजार भन्दा बढी सङ्ख्यामा कोभिड–१९ का कोरोना सङ्क्रमित पुगेकाले उच्च सतर्कता अपनाएर सेवा प्रवाह गर्ने गरी कार्यालय प्रमुखहरुलाई परिपत्र दिइपछि आज देखि सरकारी कार्यालयहरु खुल्न लागेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयले समेत बार अनुसार सेवा प्रवाह गर्न शुरु गरेको सन्दर्भमा सबै कार्यालयलाई सोहीअनुसार सतर्कता अपनाउने गरी कार्ययोजना बनाउन भनिएको छ । प्रशासन कार्यालयले पनि आज देखि स्थानीय तहलाई बार अनुसारको सेवा दिने जनाएको छ । जिल्लाको मालपोत र नापी कार्यालयलाई विशेष सतर्कताका साथ सेवा प्रवाह गर्न भनिएको छ ।
गत वैशाख देखि विश्वव्यापी रुपमा फैलिएको कारोनाको नयाँ भेरियन्टका कारण रोकिएको सेवा पुनः सुचारु हुने भएको हो । सरकारी कार्यालय खोल्दा कोभिड–१९ को संक्रमण फैलिन नदिन सुरक्षाका उपाय अवलम्बन गरिने भएको छ ।
बार अनुसारको सेवा
जिल्ला प्रशासन कार्यालय दार्चुलाले बार अनुसारको सेवा सुचारु गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार आइतबार र सोमबार अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिका सेवाग्राहीलाई सेवा दिइने छ ।
मंगलबार र बुधबार शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका ,र लेकम गाउँपालिका तथा बिहीबार र शुक्रबार महाकाली नगरपालिका, दुहुँ गाउँपालिका र व्याँस गाउँपालिकाका नागरिकलाई सेवा दिइने छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले नागरिक वितरण, प्रतिलिपि, नाबालिक परिचय पत्र, राहदानी लगायत हातहतियार र संघसंस्था सम्बन्धी सेवा प्रवाह हुने जनाएको छ।