कञ्चनपुर - वेदकोट नगरपालिकाले प्राविधिक शिक्षा पढ्का लागि दलित, आदिवासी जनजाती, अपाङ्गता भएका र विपन्न गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिका लागि बजेटको व्यवस्था गरेको छ।
छात्रवृत्ति प्रदान गरी चिकित्सक, पाइलट, ईन्जिनियर, कृषि विज्ञान, सवईञ्जिनियर, सर्वेक्षक, स्टाप नर्स, जेटिए, अनमी, एचएलगायत दक्ष जनशक्ति उत्पादन गर्नका लागि नगरपालिकाको नगर सभाले ५५ लाख बजेट विनियोजन गरेको छ।
“दक्ष प्राविधिक जनशक्ति उत्पादनको अभाव खेप्नु नपरोस् भनेर लक्षित समुदायका युवालाई छात्रबृत्ति दिने व्यवस्था गरेका छौँ”, नगर प्रमुख अशोक चन्दले भने, “आर्थिक अभावकै कारण प्राविधिक शिक्षा पढनबाट कसैले पनि वञ्चित हुनु पर्दैन।”
प्रारम्भिक बाल शिक्षकलाई नगरपालिकाले मासिक सात हजार दिने र उपयुक्त विद्यार्थी सङ्ख्या अनिवार्य हुनुपर्ने नगर सभाले निर्णय गरेको छ। सामुदायिक विद्यालयका कर्मचारीको तलबमा नगरपालिकाले १० हजार ५००, सात हजार ५०० र तीन हजार ५०० दरले मासिक थप तलव गरी बजेटमा व्यवस्था मिलाएको छ।
लामो समयदेखि कार्यरत स्वास्थ्य स्वयंसेविकालाई अवकाश लिँदा एकमुष्ट दुई लाख रकम दिने बजेटमा उल्लेख गरिएको छ।
बेदकोट नगरपालिकाको नवौँ नगर सभाबाट आब २०७८÷७९ का लागि ८३ करोड ९२ लाख ३३ हजारको बजेट पारित गरिएको छ।
रासस