काठमाण्डौ – सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनसम्बन्धी रिट निवेदनमा शुक्रवार (आज) तेस्रो दिन पनि सुनुवाइ सुरु भएको छ । रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित एक सय ४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सुरु भएको हो । देउवा पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बहस सुरु गर्नुभएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलास बुधवारदेखि नियमित जारी छ । बिहीवार रिट निवेदक देउवाकै पक्षबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, हरिहर दाहाल, प्रेमबहादुर खड्का, बोर्णबहादुर कार्की, मिथिलेशसिंह यादव, हरिप्रसाद उप्रेती, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गर्नुभएको थियो ।
कानुन व्यवसायीले बहसका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को सरकार गठन गर्दा संविधान विपरीत भएको तर्क राख्नुभएको थियो । रिट निवेदक र सरकारी पक्षलाई अदालतले १५÷१५ घण्टाको समय निर्धारण गरेको छ । अब रिट निवेदकतर्फका कान’न व्यवसायीलाई बहसका लागि चार घण्टा ४५ मिनेट बाँकी छ । झन्डै तीन सय कानुन व्यवसायीले वकालतनामा दर्ता गराउनुभएको छ ।
सर्वोच्च अदालतको आदेशअनुसार अदालतका सहयोगी (एमिकस क्युरी) मा नेपाल बार एसोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल पाठक हुनुहुन्छ । सर्वोच्च बार एसोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीले अदालतको सहयोगका लागि न्याय निरूपणमा सहयोग पुग्ने गरी स्वतन्त्र राय दिनुहुनेछ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले गएको जेठ २६ गते प्रतिनिधि सभा विघटनसम्बन्धी विवादमा नेपाल बार एसोसिएशन र सर्वोच्च बार एसोसिएशनबाट दुई÷दुई वरिष्ठ अधिवक्ता उपलब्ध गराउन आदेश दिएको थियो । यस विवादमा ३० वटै रिट निवेदन परेका छन् । गएको जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटन गरी आउँदो कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि चुनाव गर्न राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानुनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ । रासस