काठमाडौँ - प्रधानमन्त्री के पी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हाल बहालमा रहनुभएका मन्त्रीहरूलाई थप मन्त्रालयको जिम्मेवारी दिनु भएको छ ।प्रधानमन्त्री श्री केपी शर्मा ओलीको नेतृत्वमा मिति २०७८/१/३१ गते गठित मन्त्रिपरिषद्मा यही जेष्ठ २१ र २७ मा भएका दुई जना उपप्रधानमन्त्री, १५ जना मन्त्री तथा तीन जना राज्यमन्त्रीको नियुक्ति भएको थियो ।
मन्त्रीपरिषद् विस्तारका विरुद्ध सर्वोच्चमा रिट दायर भएपछि सर्वोच्च अदालतले जेष्ठ २१ र २७ मा नियुक्त हुनुभएका उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीको पदको कार्य नगर्न, गर्न नदिनु, नदिलाउनु भनी अन्तरिम आदेश जारी भए पछि सो मन्त्रालयहरू मन्त्री विहीन थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैसँग राख्नु भएको छ ।
त्यस्तै विष्णुप्रसाद पौडेललाई उपप्रधानमन्त्री सहित अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई र गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथाजनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै वसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै लिलानाथ श्रेष्ठलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।