काठमाण्डौ - प्रधानमन्त्री केपि शर्मा ओलीले कञ्चनपुरको शुक्लाफाँटा आरक्षबाट विस्थापितहरुको यसै आर्थिक बर्षमा समस्या समाधान गरिने बताउनु भएको छ । स्वतन्त्र छानविन समिति निर्माण गरि यसै आर्थिक बर्षमा पिडितहरुको समस्या समाधान गरिने प्रधानमन्त्रीले बताउनु भएको हो ।
सुदुरपश्चिम प्रदेशबाट संघ र प्रदेशमा सभामा प्रतिनिधित्व गर्ने सांसद सहितको टालीले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आरक्षबाट विस्थापितहरुको पुनःस्थापित गर्न पटक पटक गठन गरिएका आयोगहरुले फरकफरक प्रतिबेदन बुझाएका कारण संख्या एकीन गर्न अप्ठ्यारो भइरहेको भएपनि यो आर्थिक बर्षमा छानविन गरि समस्या समाधान गरिने बताउनु भएको हो ।
संघीय संसदमा पेश भएका भुमी सम्बन्धि आठौं संसोधन विधेयक २०७५ र वन सम्बन्धि कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०७५ संसोधन गरि पास गर्न र आरक्ष पिडितहरुको समस्या समाधान गर्न सुदुरपश्चिमबाट केन्द्र र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन ।
सुदुरपश्चिम प्रदेश सभाका सदस्यहरुले ल्याएको ज्ञापनपत्रबारे प्रस्ट पार्दै पुर्वमन्त्री तथा संघीय सांसद एबं नेकपामा सुदुरपश्चिम इन्चार्ज भीम रावलले लामो समयदेखि जग्गाको नाप नक्सा भएका वा ऐलानी जग्गा भोगचलन गरी बसोबास गर्दै आएका किसानहरुको जग्गाको नाप नक्सा गरी सहुलियत राजस्वमा जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउनु पर्ने र शुक्लाफाँटा वन्यजन्तु आरक्षको क्षेत्र बिस्तार गर्दा त्यहाँभित्र बसोबास गरिरहेका परिवारहरुलाई अर्को ठाउँमा जमिनको व्यवस्था वा क्षतिपूर्तिको व्यवस्था गरी समस्या समाधान गरिनु पर्ने बताउनु भएको छ ।
सुदुरपश्चिम प्रदेश सभाको विकास समितिका सभापति कुन्ती कुमारी जोशीको नेतृत्वमा सो समितिका सदस्यहरु ललबहादुर खड्का र नन्दबहादुर साँउद लगयत नेकपा सुदुरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक तारालामा तामाङ प्रदेश सभा सदस्यहरु महेशदत्त जोशी र चुनकुमारी चौधरीले ज्ञापन पत्र बुझाएका हुन भने डेलिगेसन टोलीमा संघीय सांसद भीम रावल, नरबहादुर धामी, निरुदेवी पाल, विना बुढाथोकी, पुर्व सभाषद कृपाराम राना र बेदकोट नगरपालिकाका उप प्रमुख शुशिला सिंह रहनु भएको थियो ।
डेलिगेसनमा सहभागी पत्रकार महासंघ कन्चनपुरका अध्यक्ष तथा संवाद समुहका सदस्य विष्णु अवस्थीले आरक्ष पिडितहरुको समस्या अवगत गराउनु भएको थियो ।