कञ्चनपुर- भीमदत्त नगरपालिका- १२ का ६८ वर्षीया हेमादेवी केसी ऐरीघाटनजिक घर बनाएर बसेको चार दशक वितेको छ । यसअघि डुवानमा नपरेको सो बस्ती यो वर्ष वर्षातको शुरुआतमै डुवानमा परेको छ ।
बाढीले छिमेकीसहित हेमादेवीको घरसमेत डुवानमा परेको छ । 'यो भन्दा पहिले हाम्रो बस्तीमा बाढी आउदैनथ्यो । चार लेनको सडक बनाउने क्रममा महाकाली नदीमा जथाभावी बाँध बाँधेकाले हाम्रो बिचल्ली भयो,' उनले भनिन्, 'दुई दिनदेखि त्रिपालमा बसिरहेको छु ।' बस्ती पूरै डुवान हुँदा पनि सहयोगका लागि कोही नआएको उनको गुनासो छ ।
'दिनभरी मजदुरी गरेर साँझबिहान हातमुख जोर्ने जोहो मिलाएका थियौँ । सबै बाढीले बगाएर लग्यो,' एरीघाटका अर्का बाढीपीडित जयसिंह चैसिरले भने, 'अब के खाने र कहाँ बस्ने भन्ने चिन्ताले सताएको छ ।'
महाकाली नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर पानी बस्तीमा पसेको हो । सो खोलाको पानीको निकासलाई ख्याल नगरी बाँध निर्माण गरिएकाले खोला गाउँ पसेको स्थानीयको भनाइ छ ।
'बाँध निर्माण गरेका बेला नै खोला थुनिन्छ भनेका थियौँ । त्यतिबेला कसैले सुनेनन्,' प्रमोद भट्टले भने, 'अहिले बस्ती नै डुवानमा परेको छ ।'
बस्तीका २० घरभित्र २ फिटसम्म पानी जमेपछि त्यहाँका बाढीपीडितहरू अर्काको घरमा शरण लिएर बस्दै आएका छन् । कतिपय बाढीपीडित त्रिपालमुनि बस्न बाध्य भएका छन् । जोखिम अवस्थामा रहेका केही परिवारलाई वडा कार्यालय र नजिकको विद्यालयमा राखिएको छ ।
'घरभित्र बाढी पस्यो खाद्यान्न तथा लत्ताकपडा सबै बगाएर लग्यो । बालबच्चदेखि सपरिवार हिजोदेखि भोकै छौँ,' भट्टले भने, 'भुजेला खोलाको पानीको निकास नखोजिए यसवर्ष हाम्रो उठिबास हुन्छ ।'
महाकालीको प्रभाव क्षेत्रबारे राम्रो अध्ययन नगरी काम गरिएकाले डुबानको स्थिति सिर्जना भएको भीमदत्त- १२ का वडाध्यक्ष कृष्णसिंह देउवाले बताए ।
नदीको बाढीले निर्माणाधीन पुल नजिकको बाँधमा समेत कटान सुरु गरेको छ । अहिलेसम्म बाँधमा झण्डै १० मिटर कटान गरिसकेको छ । कटान नियन्त्रण गर्न आपतकालीन तटबन्धको काम थालिएको छ ।
असार पहिलो साता मै बाढीले यति दुःख दिएकोमा स्थानीय चिन्तित भएका छन् । महाकाली नदीमै बालुवा गिट्टी चालेर जिविका चलाउदै आएका तौला रानाको समेत बाढीको पानीले घर भित्र राखेको सबै खाद्यान्नलगायत सामग्री भिजाएको छ । नदीमा पानी बढेपछि रातिमा सुत्न नसकेको उनले बताए ।
'नदीको पानी यसरी कहिल्यै पनि बस्तीमा छिरेको थिएन,' उनले भने, 'यो वर्षको सुरुमै पूरै बस्ती डुवानमा पर्यो । परिवारको सुरक्षा कसरी गर्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।'
पहाडी क्षेत्रमा वर्षा हुने क्रम रोकिएसँगै महाकाली नदीको बहाव अहिले घट्दो अवस्थामा छ । नदीमा पानीको सतह घटेपनि डुवानमा परेका परिवारको सबै खाद्यान्न भिजेर कामै नलाग्ने अवस्थमा रहेकाले उनीहरूलाई साँझ बिहानको छाक टार्न अप्ठेरो परेको छ । वडा र नगरपालिका कार्यालयबाट कोही पनि राहत लिएर नपुगेको डुवान पीडित परिवारको गुनासो छ । रासस