काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेदवारी दिने संकेत गरेका छन् । पार्टीका प्रदेश एकका आफ्नो समूहका केन्द्रीय सदस्यहरूसँग देउवाले सुझाव मागेका हुन् ।
कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको १४ औं महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ । त्यसपछि महाधिवेशनका सन्दर्भमा र आफ्नो तयारीका सन्दर्भमा देउवाले छलफल सुरु गरेका हुन् ।
आफ्नै निवास बुढानीलकण्ठमा भएको छलफलमा देउवाले आफ्ना कमीकमजोरीलाई औपचारिक कार्यक्रममा नभइ, अनौपचारिक कार्यक्रममा औल्याइदिन नेताहरूलाई आग्रह गरेका थिए । ‘पार्टीमा देखिएका कमीकमजोरीलाई औपचारिक बैठकमा भन्दा अनौपचारिक बैठकमा औल्याइदिनुस् म सच्याएर अधि बढ्छु,’ देउवाको भनाइ उध्रित गर्दै एक नेताले भने ।
छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, विश्वकर्मा, भिष्मराज आङ्दम्बे, सिता गुरुङ, रामकृष्ण भट्टराई, बाबुराम बस्नेत, डिला संग्रौलालगायत उपस्थित थिए ।
देउवाले यसपछि मौका मिलाएर प्रदेशपिच्छे नेताहरूसँग छलफल गर्ने तयारी गरेका छन् । देउवाको सचिवालयका अनुसार पार्टी सभापति भएकाले आफूलाई विश्वास लागेका नेताहरूसँग देउवाले महाधिवेशनबारे छलफल गरेका हुन् । त्यो छलफल अब निरन्तर रहने छ ।