काठमान्डौ -नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले बाढी, पहिरो र डुबानबाट पीडित जनताका लागि राहतका कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ।
बिहीबार बसेको नेपाल समूहको स्थायी कमिटीको बैठकले प्राकृतिक प्रकोपको सामना गर्न सरकारले पूर्वतयारी नगरेकोमा भने दुःख व्यक्त गरेको छ। बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “वर्षा याममा प्रत्येक वर्षजसो नेपाली जनताले व्यहोर्दै आएको बाढी, पहिरो र डुबानको समस्या समाधान गर्न नेपाल सरकारले जिम्मेवारीपूर्वक कुनै पूर्वतयारी गरिएको नदेखिनु दुःखको विषय हो। यस्तो स्थितिमा तुरुन्त परिवर्तन हुनुपर्छ।”
भर्खर मनसुन प्रारम्भ भएकाले अझै आगामी दिन अझै गम्भीर हुने जनाउँदै तयारी गर्न आग्रह गरेको छ। “अहिले मनसुन शुरू मात्रै भएको छ। आगामी दिनहरूमा समस्या अझै गम्भीर हुने सम्भावना देखिन्छ। यसको निम्ति समयमै विशेष व्यवस्था गर्नुपर्ने बारेमा राज्यका सम्पूर्ण निकायहरू, जनप्रतिनिधिहरू तथा आम जनसमुदायको ध्यान आकर्षित गर्न चाहन्छौं,” नेपाल समूहले भनेको छ।
यस विपत्तिमा प्रभावित जनतालाई सघाउन नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ। नेपाल समूहले भनेको छ, “यस्तो प्राकृतिक विपत्तिमा आ–आफ्नो ठाउँबाट पीडित जनसमुदायको उद्धार र राहत कार्यमा सक्रियताका साथ योगदान गर्न हामी राज्यका सबै अंगहरू, सम्पूर्ण पार्टी, जनसंगठनहरू, जनप्रतिनिधिहरू, पार्टी सदस्यहरू, नागरिक समाज तथा सबै सामाजिक संघसंस्थाहरूलाई हार्दिक आह्वान गर्दछौं।”
बैठकपछि स्थायी कमिटीका सदस्यहरू नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमालले प्रेस विज्ञप्ति जारी गरेका हुन्। उनीहरूले बाढी, पहिरो तथा डुबानमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाएका छन्।