राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर-शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले वन्यजन्तुको क्षति न्यूनीकरणका लागि ‘वन्यजन्तु मैत्री’ संरचना निर्माणमा जोड दिन थालेको छ।
वन्यजन्तु र मानवबीच हुने द्वन्द्व एवम् दुर्घटनामा कमी ल्याउनका लागि निकुञ्जले ‘वन्यजन्तु मैत्री’ संरचना निर्माणमा जोड दिन थालेको हो। निकुञ्ज भएर जाने महाकाली तेश्रो चरणको नहरमा वन्यजन्तु मैत्री संरचना बनाइएका छन्। निकुञ्जले महाकाली तेश्रो चरणको परियोजनासंग समन्वय गरी वन्यजन्तुलाई ओहरदोहरका लागि ‘ओभर पास’ बनाइएका छन्।
“निकुञ्जको झण्डै चार किलोमिटर क्षेत्र भएर नहर गएको छ”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पूर्जामगरले भने, “वन्यजन्तुलाई निकुञ्जको उत्तर दक्षिणतर्फ ओहरदोहर गर्नका तीन÷तीन सय मिटरको दूरीमा पाँच ओटा ओभर पास निर्माण गरिएको छ।”
वन्यजन्तुको बढी ओहरदोहर हुने क्षेत्रको पहिचान गरी ओभर पास निर्माण गरिएको उनको भनाइ छ। नहरमा फसेर मृत्यु हुने समस्या समाधानका लागि परियोजनाको सहकार्यमा वन्यजन्तुका लागि ठाउँ ठाउँमा पानी पिउने व्यवस्था गर्न लागेको प्रमुख संरक्षण अधिकृत पूर्जामगरले बताए।
वन्यजन्तु मैत्री संरचना निर्माण हुँदा वन्यजन्तु र मानव बीच हुने द्वन्द्व एवं दुर्घटनामा कमी आउने बताउँदै उनले वन्यजन्तुलाई सुरक्षित महसुस हुने गरी संरचना निर्माणमा निकुञ्ज लागिपरेको छ। प्रमुख संरक्षण अधिकृत पूर्जामगरका अनुसार पूर्व पश्चिम राजमार्गको अर्जुनीदेखि चम्फापुरसम्म निकुञ्ज क्षेत्र भएर जाने सवारी साधनको ठक्करबाट चालू आर्थिक वर्षको हालसम्म नौ वटा संरक्षित जनावरको मृत्यु भएको छ।
“ओहरदोहर गर्ने ठाउँको अभाव हुँदा राजमार्गमा सवारी साधनको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने गरेको छ। त्यसको निराकरणका लागि वन्यजन्तु मैत्री संरचना निर्माणमा जोड दिनुपर्छ”, उनले भने, “वन्यजन्तु मैत्री संरचना निर्माण नहँुदा पछिल्लो समय मानव र वन्यजन्तुबीचको द्वन्द र दुघटनामा समेत वृद्धि हुन थालेको छ।”
निकुञ्ज कार्यालयका अनुसार निकुञ्ज क्षेत्रमा पर्ने पूर्व पश्चिम राजमार्गको उत्तर र दक्षिणतर्फ ओहरदोहर गर्नेमा १५ प्रजातिका स्तनधारी जीवजन्तु र सरिसृप लगायत रहेका छन्। “परम्परागत रुपमा बनाइएका सडक, नहरलगायत संरचना वन्यजन्तु मैत्री छैनन्”, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजयविक्रम मानन्धरले भने, “ती संरचनमा सुधार गर्नु नितान्त जरुरी छ। त्यसमा अन्डर र ओभर पास बनाई वन्यजन्तुको आवागमनलाई सहज बनाउनुपर्छ।”
वन क्षेत्र भित्र बनाइने सडक तथा नहर जस्ता विभिन्न संरचनालाई वन्यजन्तु मैत्री बनाउन नसके मानव र वन्यजन्तुबीच द्वन्द्व र दुर्घटना समेत बढ्दै जाने हुँदा आगामी दिनमा यस प्रकारका भौतिक संरचना निर्माणका क्रममा सबै पक्षले वन्यजन्तुको संरक्षण र अधिकारको विषयलाई समेत आत्मसात् गर्न आवश्यक रहेकोमा उनको जोड छ।
“वन्यजन्तु मैत्री संरचना बनाउँदा प्राकृतिक स्वरुपजस्तै लाग्नुपर्छ” उनले भने, “त्यसो भए मात्र जिवजन्तुले सहज रुपमा ओहरदोहर गर्न सक्छ।” वन्यजन्तु हिडने बाटो अतिक्रमण गरी बसोबास गर्ने र भौतिक संरचना निर्माण गर्ने कार्यले पनि वन्यजन्तु र मानवबीच हुने द्वन्द्व हुने गरेको छ। त्यसैले अब विकास निर्माणका कार्यमा वन्यजन्तु र वातावरण मैत्री संरचना निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।
महाकाली सिँचाई तेस्रो चरण आयोजना कार्यालयका प्रमुख रणबहादुर बमले तेस्रो चरणको काममा वन क्षेत्रमा वन्यजन्तु मैत्री संरचना निर्माण भइरहेको जानकारी दिए। “निकुञ्ज क्षेत्र भएर जाने नहरका ठाउँ ठाउँमा ओभर पास बनाएका छौं”, उनले भने, “निकुञ्ज कार्यालयको सहकार्यमा जीवजन्तुलाई पानी पिउनका लागि समेत व्यवस्था गर्नमा लागेका छौं।” वन्यजन्तु र जैविक विधिताको संरक्षण गरेमा मात्रै मानव जीवन सुरक्षित रहने उनको भनाइ छ।
राष्ट्रिय वातावरण नीति—२०७६ ले समेत भौतिक पूर्वाधार निर्माण गर्दा वन्यजन्तु र वातावरण मैत्री संरचना निर्माणमा जोड दिएको छ। वातावरण संरक्षण ऐन—२०५३ तथा वातावरणीय प्रभाव नियमावली—२०५४ ले वातावरण संरक्षणका लागि कानूनी आधारहरु समेत प्रदान गरेको छ। रासस