अत्तरिया-आज साउन १५, खीर खाएर मनाइदैछ । हरेक वर्ष साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । सांस्कृतिक परम्पराअनुसार कृषि प्रधान देश भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरुप खिर खाने चलन चलेको हो ।
नेपालका विभिन्न ठाउँमा यो दिनलाई विशेष दिनका रुपमा लिने गरिन्छ । खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिने गरिन्छ । चामल, दूध, नरिवल, छोकडा, मरिच चिनी लगायतका अन्य चिजहरु हालेर खीर बनाउने चलन छ । साउनमा खीर खानुको वैज्ञानिक महत्व पनि रहेको डाक्टरहरु बताउँछन् ।
डाक्टरहरुका अनुसार गर्मीको समयमा शरीरमा दाद, खटिरा, र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि खीर खानु उपयुक्त हुन्छ । साउन महिना वर्षात समय भएकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पोषिलो खिर खाने गरिन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि यो खाने प्रचलन बसेको बुझ्न सकिन्छ ।
बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बँच्न खिर खाने गरेको पाइन्छ । हिन्दू धर्मावलम्वीहरुका लागि साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोषिला परिकारहरू, खासगरी खीर खाने चलन छ । यससँगै मौसमी फलफूल र मसला पनि खाने गरिन्छ ।