अत्तरिया - सुदूरपश्चिम प्रदेश स्थायी राजधानी तोकिएको गोदावरीमा राजधानी निर्माणको कामलाई अगाडी बढाउन प्रदेश सरकारले आगामी आर्थिक बर्षमा पनि बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनमन्त्री प्रकाश बहादुर शाहले राजधानी निर्माणका लागि २ करोड ७२ लाख विनियोजन गरिएको जानकारी दिए ।
चालु आर्थिक बर्षमा गठन भएको राजधानी पुर्वाधार विकास समितिलाई थप प्रभावकारी बनाउन र वातावरणीय प्रभाव मुल्याङ्कन गरी विस्तुत परियोजना प्रतिवेदन डिपिआर तयार गर्नका लागि २ करोड ७२ लाख विनियोजन गरिएको मन्त्री शाहले बताए ।
२०७५ साल असोज १२ गते बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठकले गोदावरी नगरपालिका वडा नं २ र ४ मा पर्ने गोदावरीमा स्थायी राजधानी बनाउने निर्णय बहुमतले पारित गरेको थियो । राजधानी निर्माणका लागि निर्णय भएको ३ बर्ष सम्म पनि उक्त ठाउँमा कुनै काम हुन सकेको छैन ।
राजधानी निर्माणका लागि भनेर प्रत्येक बर्ष प्रदेश सरकारले मात्र होइन संघिय सरकारले पनि बजेट बिनियोजन गर्ने गरेको छ । प्रदेश सरकारले राजधानी निर्माणका लागि भनेर चालु आर्थिक बर्ष २०७७÷७८ मा पनि दुई करोड ७४ लाख बजेट विनियोजन गरेको थियो ।
भौतिक पूर्वाधारसंगै राजधानी निर्माणको कामले तिब्रता पाउनुपर्ने भए पनि अहिले सम्म वातावरणीय प्रभाव मुल्याङ्कन समेत हुन सकेको छैन् ।
जङ्गल मासेर राजधानी स्थापना गर्ने निर्णय गरिएको भन्दै सोविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेपछि प्रदेश सरकारले त्यसका कारण पनि पेश गरेको थियो ।
गोदावरीलाई प्रदेशको राजधानी तोकिएपछि निकै खुसी भएका गोदावरीबासी राजधानी तोकेको ३ बर्ष सम्म पनि कुनै काम नहुदाँ अहिले भने निराश बनेका छन् ।