अत्तरिया - सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गरेको छ । आज प्रदेश सरकारका आर्थिक मामिला तथा योजनमन्त्री प्रकाश बहादुर शाहले प्रदेश सभाको आठौँ अधिवेशनको १२ औँ बैठकमा बजेट सार्वजनिक गरेका हुन् ।
प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
आगामी आर्थिक बर्षको बजेट चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब ५ करोड कम रहेको छ । बजेट वक्तव्य प्रस्तुत गर्दै मन्त्री शाहले चालुतर्फ १० अर्ब ६६ करोड र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख बजेट विनियोजन गरेको बताएका छन् ।
चालुतर्फ चालु आर्थिक वर्षको तुलनामा ४ अर्ब बजेट घटाइएको छ भने पुँजीगतर्फ झण्डै एक अर्बले वृद्धि भएको छ । स्वास्थ्य र पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गरिएको अर्थमन्त्री शाहले बताए । प्रदेश सरकारले कोरोना रोकथामाको लागी ९० करोड छुट्याएको छ ।
अर्थमन्त्री शाहाले कोरोना लगाएतका महामहारी रोकथामाको लागी आगामी बर्षमा ९० करोड बजेट छुट्याएको बताए । उनका अनुसार आगामी आर्थिक बर्षलाई सुदूरपश्चिका अस्पताल स्तरोन्नती तथा सेवा सुधार बर्षका रुपमा कार्यान्वयन गरिने छ ।
उक्त कार्यक्रमका लागि २ अर्ब ४२ करोड ५८ लाख विनियोजन गरिएको मन्त्री शाहले बताए । कैलालीको सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर र टीकापुर अस्पताललमा सरुवा रोग अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ । अर्थ मन्त्री शाहले दुर्घटनाबाट घाइते भएकाहरुको उपचारमा गर्ने उदेश्यले ट्रमा सेन्टर र अनुसन्धान केन्द्र स्थापनाका लागि ५ करोड बजेट विनियोजन गरेको बताए ।
यस्तै भौतिक पूर्वाधारतर्फ प्रदेश गौरवका सडक निर्माण, ठूला पूर्वाधार र रुपान्तरणकारी योजनालाई अगामी वर्षमा निरन्तरता दिने गरी ५ अर्ब १२ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री शाहाको भनाई छ ।
यस्तै सुदूरपश्चिम प्रदेश सभाका लागि १८ करोड बढी बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री शाहाले प्रदेश सभाको गरिमालाई कायम राख्दै प्रदेश सचिवालय व्यवस्थापन, प्रदेश सभाका विषयगत समितिको सुदृढीकरण, भौतिक श्रोत साधन सम्पन्न बनाउनका लागि १८ करोड ७८ लाख बजेट विनियोजन गरेको बताए ।
यसैगरि सरकारले आगामी बर्षको बजेटमा बादी समुदायलाई पनि समेटेको छ । सरकारले वादी समुदायलाई लक्षित गर्दै ३ करोड बजेट विनियोजन गरेको हो । वादी समुदायको आर्यआर्यन वृद्धि गर्न तथा उनीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले उक्त बजेट छुट्टयाइएको उनले बताए । प्रदेशभरी रहेका विभिन्न कारागारहरुलाई सुधारगृहको रुपमा रुपान्तरण गरिने भएको छ ।
कारागारहरुलाई सुधारगृहको रुपमा रुपान्तरण गर्नका लागि ४५ लाख बजेट बिनियोजन गरिएको अर्थमन्त्री शाहले बताए ।
कैदीबन्दीबाट उत्पादित बस्तुको बजारीकरण समेत गरिने उहाँको भनाई रहेको छ । सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षदेखि भीमदत्त पन्त उत्कृष्ट कृषक पुरस्कार दिने भएको छ । उक्त पुरस्कार मार्फत कृषि पेसालाई तथ व्यवस्थित बनाइने अर्थमनत्री शाहाले बताए ।