अत्तरिया - सुदूरपश्चिम प्रदेश सहित सातवटै प्रदेशले आज आगामी बर्षको बजेट सार्वजजिक गर्दैछन । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण आगामी आर्थिक वर्ष २०७८÷८९ को बजेट सार्वजनिक गर्न लागेका हुन् ।
सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारी गरिएको छ भने कर्णाली प्रदेशमा दिउँसो १ बजे , प्रदेश १ र बागमती प्रदेशमा दिउँसो ३ बजे बजेट प्रस्तुत हुँदै छ । यस्तै प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशले पनि दिउँसो ४ बजे तथा बजेट प्रस्तुत गर्ने तयारी छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आवका लागि ल्याउने बजेट २९ अर्बको हाराहारीमा हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले आगामी आव ०७८–७९ का लागि ल्याउन लागेकोे बजेट चालू आवको भन्दा कम आकारको हुने जनाइएको छ । प्रदेश सरकारले चालु आव २०७७÷७८ मा साढे ३३ अर्बको बजेट ल्याएको थियो ।
मन्त्रालयका अनुसार आव २०७८–७९ को बजेट २८ देखि २९ अर्बका बीचमा आउनेछ । मन्त्रालयका अनुसार सङ्घीय सरकारबाट प्रदेश सरकारले पाउने समानीकरण अनुदान र विशेष अनुदान कम हुनाका साथै चालू आवको बजेटमा बचतसमेत कम हुने देखिएकाले आगामी आवको बजेटको आकार घट्नेछ ।
मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउँदले कोरोना महामारी रोकथामका लागि लामो समयसम्म जारी निषेधाज्ञाका कारण विकास निर्माणका योजनासमेत प्रभावित भएकाले चालु आवको बजेटमा डेढ अर्बदेखि रु दुई अर्ब बचत हुने बताए ।
अघिल्लो आव २०७६–७७ मा कोरोना महामारी रोकथामका लागि भएको लकडाउनका कारण विकास निर्माणका योजनासमेत प्रभावित हुँदा १० अर्ब ५७ करोड बचत भएको जनाइएको छ ।