अत्तरिया - सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सात जना प्रदेश सभा सांसदलाई निलम्बन गरिएको छ ।
सोमबार बसेको नेकपा एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै ओली पक्षका सात जना सांसदलाई निलम्बन गरेको हो ।
निलम्बन हुनेमा पूर्वमन्त्री समेत रहेका पठानसिंह बोहरा, नेपालु चौधरी, रतन थापा, लीलाधर भट्ट, माया तमाङ, बलदेब रेग्मी र ग्याल्बु बोहरा रहेका छन् ।
उनीहरुमाथि ७ दिनदेखि १० दिनसम्म निलम्बन गर्ने निर्णय गरिएको प्रमुख सचेतक दुर्गा विकले बताइन् ।
विकका अनुसार पठानसिंह बोहरा र रतन थापालाई १५ दिनका लागि निलम्बन गरिएको हो। यस्तै रेग्मी भट्टराई १० दिन तथा गेल्बुसिंह, तामाङ र चौधरीलाई ७ दिनका लागि निलम्बन गरिएको छ।
संसदीय दलको ह्वीप नमानेर सरकारलाई विश्वासको मत नदिएको तथा नीति तथा कार्यक्रम पारित गर्ने बेलामा पनि ‘हुन्न’ भनेकाले कारबाही गरिएको विकले बताइन्।
माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेको थियो। तर ओली पक्षका सांसदले विपक्षमा मतदान गरेका थिए ।