धनगढी -सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले केन्द्र सरकारको बजेट बितरण प्रणाली ठीक नभएको आरोप लगाउनु भएको छ । आईतवार प्रदेश सभामा आगामी आर्थिक बर्ष २०७८ -७९ को बजेट माथि प्रदेश सभाका सदस्यहरुले उठाएका प्रश्नको जबाब दिंदै उनले यस्तो आरोप लगाएका हुन ।
'केन्द्रको आर्थिक बितरण प्रणाली नै ठीक र न्याय पूर्ण भएन । बिगतको जस्तै बितरण गर्ने प्रचलन कायमै छ ,' उनले भने ,' केन्द्र सरकारले अब यो निती बदल्न पर्ने हुन्छ । यो त पुरानै शैली भयो ।' मुख्यमन्त्री भट्टले जहाँ कर बढी उठछ त्यँहा बढी लगानी गर्ने बित्त आयोगले पनि आफ्नो निती चेन्ज गर्नुपर्ने बताए ।
उनले सुदुरपश्चिममा धेरै लगानी नै नभएकाले धेरै कर उठन नसक्ने प्रश्न गर्दै भने- 'यँहा लगानी नै छैन कर कहाँ बाट कर उठछ ।' उनले केन्द्र सरकारले सुदुरपश्चिममा लगानी बढाउने निती बनाउनु पर्नेमा जोड दिए ।
'लगानी बढी भए कर पनि उठछ । सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा लगानी बढाउनु पर्यो,' उनले भने ,' माउन्ट एभरेष्टमा नेपाल सरकारको जती लगानी छ के त्यती अपी सैपालमा लगानी छ ?'
हिजोको प्रणालीले सुदुरपश्चिमलाई कमजोर पारेकाले अब नेपाल सरकार र बित्त आयोगले पनि यो कुरा मनन गर्नु पर्ने उनको भनाई छ ।
समाबेशीताको निती राजनितिक रुपमा लिएपनी आर्थिक क्षेत्रको बितरण प्रणालीमा पनि यो निती लागु हुनेपर्ने बताउँदै मुख्यमन्त्री भट्टले सुदुरपश्चिम जस्तो पछाडी पारीएको क्षेत्रमा लगानी गर्दा अरु प्रदेश सँग तुलना गरेर नहुने जिकिर गरे ।